आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

शेयर बजारको नियामक निकायको क्षमता सुधार्न जरुरी छ

गोकर्णेश्वर खबर२६ श्रावण २०८१, शनिबार १०:४८ मा प्रकाशित (२ महिना अघि) ६७ पाठक संख्या

काठमाडौँ । धितोपत्र बजारलाई थप व्यवस्थित र मर्यादित बनाउन कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र नियामकीय क्षमताको सुधारमा जोड दिइएको छ ।

अर्थ समितिको आजको बैठकमा सांसदहरूले बजारको स्थायित्वका लागि विद्यमान नीति तथा नियमको कार्यान्वयन, समसामयिक सुधार तथा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिनुभएको हो ।
समितिका सदस्य एवम् पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले शेयर बजार मर्यादित र व्यवस्थित हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको भएपनि त्यसलाई लिएर गलत प्रचार गरिएको गुनासो गर्नुभयो ।

धितोपत्र बजारको सुधार, व्यवस्थापन र सन्तुलनका लागि धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुक्ष्म निगरानी गर्नुपर्ने डा।महतको भनाइ छ ।

सांसद मेटमणि चौधरीले धेरैको लगानी रहेको धितोपत्र बजारमा कमजोर कम्पनीको शेयर मूल्यमा देखिएको अस्वाभाविक वृद्धिको खोजी गर्नुपर्ने बताउनुभयो ।

बैठकमा सांसदहरू सूर्य थापा, जुलीकुमारी महतो, नारायणी शर्मा, छिरिङ लामालगायतले बजारको स्थायित्वका सन्दर्भमा नियामक निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । बजारको क्षमता विस्तारका लागि बोर्डको भूमिका थप प्रभावकारी बनाउनुपर्ने उहाँहरूको भनाइ थियो ।

बैठकमा बोर्डको अध्यक्षको भूमिकासमेतमा रहनुभएका अर्थ मन्त्रालयका सहसचिव महेश बरालले बोर्डको क्षमता वृद्धिका लागि नेपाल राष्ट्र बैंकलाई आग्रह गर्नुभयो । उहाँले बजारको हल्लाका पछाडि लागेर शेयर बजारमा लगानी गर्न नहुने बताउनुभयो ।

धितोपत्र बजारसम्बन्धी सूचना सबै क्षेत्रमा पुर्‍याउन नसकिएका कारण कतिपय अवस्थामा साना लगानीकर्ता मर्कामा पर्न सक्ने भएकाले ध्यान दिन उहाँले आग्रह गर्नुभयो । बरालले चालु आवको मौद्रिक नीतिले गरेको सहजीकरणका कारण बजार उकालो लागेको बताउनुभयो ।