आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

प्रधानमन्त्रीसँग उपत्यका मेयर्स फोरमको भेट: समन्वय गरेर काम गर्न आग्रह

गोकर्णेश्वर खबर२६ श्रावण २०८१, शनिबार ०९:५९ मा प्रकाशित (२ महिना अघि) १२० पाठक संख्या

काठमाडौँ, । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ ।

उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले ‘को भन्दा को ठुलो’ भन्ने ढङ्गले नभई केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्नेमा जोड दिनुभएको हो ।

“जनप्रतिनिधिलाई जनताका पक्षमा काम गर्न निर्वाचित भएका हुन्छन् । त्यसैले हामीले अहंकार र दम्भबाट निर्देशित हुनु हुन्न । जनताप्रति शालिन र विनयशील हुनुपर्छ । हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन् ।”

फोरमका अध्यक्ष चिरीबाबु महर्जनले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्दै पारस्परिक सम्बन्ध र सहअस्तित्वबाट सहयोग आदानप्रदान गर्दै जनताप्रति सेवा दिन आफूहरु प्रतिबद्धता रहेकाले केन्द्र सरकारबाट हुुनुपर्ने सहजीकरणमा प्रधानमन्त्रीको साथ माग्नुभएको थियो ।