आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

काटिएका ६ उद्योगको लाइन जोड्न प्रधानमन्त्री ओलीको निर्देशन कुलमानले गरे अस्वीकार

गोकर्णेश्वर खबर५ श्रावण २०८१, शनिबार १३:२४ मा प्रकाशित (२ महिना अघि) १२६ पाठक संख्या

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा काटिएका ६ उद्योगको लाइन जोड्न प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अस्वीकार गरेका छन् ।

शुक्रबार ऊर्जामन्त्री दीपक खड्का र उद्योगमन्त्री दामोदर भण्डारीसहित उपस्थित बैठकमा प्रधानमन्त्री ओलीले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा काटिएका ६ उद्योगको लाइन तत्काल जोड्न घिसिङलाई निर्देशन दिएका थिए । तर, कार्यकारी निर्देशक घिसिङले प्रधानमन्त्री ओलीको निर्देशन पालना गर्न अटेर गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार (हिजो) नै काटिएका लाइन जोड्न निर्देशन दिए पनि घिसिङले सञ्चालन समितिको बैठकबाट निर्णय गर्नुपर्ने जवाफ दिएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले शुक्रबार साँझ नै बैठक बसेर निर्णय गर्न भनेका थिए ।

प्रधानमन्त्री ओलीको निर्देशनअनुसार बोर्ड अध्यक्षसमेत रहेका ऊर्जामन्त्री खड्काले बोर्ड बैठक राखेका थिए । तर, ऊर्जामन्त्री खड्काले राखेको बोर्ड बैठकमा पनि कार्यकारी निर्देशक घिसिङले काटिएका उद्योगमा पुनः लाइन जोडिदिने निर्देशन ऊर्जा मन्त्रालयबाटै आउनुपर्ने अडान राखेका थिए । ऊर्जा मन्त्रालय स्रोतका अनुसार कार्यकारी निर्देशक घिसिङले मन्त्रालयले नै निर्देशन दिनुपर्ने भनेर काटिएका उद्योगमा पुनःलाइन जोड्ने निर्णय हुन दिएनन् ।

काटिएका लाइन जोड्न दिएको निर्देशन कार्यकारी निर्देशक घिसिङले अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीले कि तपाईं निर्णय गर्नुहोस नभए तपाईंबारे निर्णय हुन्छ भन्ने जवाफ दिएका थिए । आफ्नो निर्देशन पालना गर्न अटेर गरेका घिसिङसँग प्रधानमन्त्री ओली रुष्ट भएका छन् ।