आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत नै ठिक नभएको गगनको जिकिर

गोकर्णेश्वर खबर७ फाल्गुन २०८०, सोमबार १५:०९ मा प्रकाशित (११ महिना अघि) २६३ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाएका छन् ।

उनले सरकारले केही दिनभित्रै राजनीतिक भागबण्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिस्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको बताएका हुन् । सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठनलगायत धेरै विषयमा सुधार गर्नुपर्ने भए पनि प्रधानमन्त्रीले पुनः गल्ती दोहार्‍याएको दाबी गरे ।

उपकुलपति नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको नियत नै ठिक नभएको जिकिर गरे । उनले प्रधानमन्त्री प्रचण्डलाई खुला प्रतिस्पर्धाबाट नै उपकुलपति चयन गरेको छु भन्ने सोचेर सबैलाई झुक्याएको जस्तो लागे पनि आफैँ झुक्किरहेको बताए । अहिले खुला प्रतिस्पर्धा भनिएपनि नियत भागबण्डाकै राखिएको बताए ।

महामन्त्री थापाले प्रधानमन्त्रीले चाहेको खण्डमा अझै पनि नयाँ प्रक्रिया थालनी गरेर योग्य व्यक्तिलाई उपकुलपति बनाउन सकिने बताए । प्रधानमन्त्रीले अहिले पाएको मौकाको सदुपयोग नगर्नु भनेको आफैँ झुक्किनु रहेको थापाको भनाइ छ ।

उनले भने, हाम्रो विश्वविद्यालयको अवस्था बिजोग छ । विश्वविद्यालयको नेतृत्व चयनदेखि यसको पठनपाठन लगायतका थुप्रै विषयमा सुधार गर्नुपर्नेछ । जुन अब संसद्मा केही समयपछि आउने उच्च शिक्षालाई हेर्ने विधेयक जुन आउँछ । त्यसमा काम गरिसकेपछि यसको प्रवन्ध हुन्छ । तर, यो कानुन बन्न अझै पनि कम्तीमा एक डेढ वर्ष लाग्छ । यहाँ समस्या के भयो भने त्यो कानुन बन्नुभन्दा पहिला नै त्रिभुवन विश्वविद्यालय लगायतको सबै विश्वविद्यालयहरुको नेतृत्व रिक्त भयो । अब हामी अहिले कानुन एक वर्षपछि बनाउँला । तर, अहिले आएको नेतृत्वले त पाँच वर्ष काम गर्दछ । अर्को चारदखि पाँच वर्ष विश्वविद्यालय पहिलाको जस्तै अस्तव्यस्त हुन्छ ।

महामन्त्री थापाले आफूले प्रधानमन्त्रीलाई खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति उपकुलपति बनाउन बारम्बार आग्रह गरे पनि प्रधानमन्त्रीले भागबण्डाकै आधारमा नै नियुक्ति गर्न लागिएको भन्दै आपत्ति जनाए ।