आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

टुटलका संस्थापक शिक्षित पक्राउ

गोकर्णेश्वर खबर२० पुष २०८०, शुक्रबार १४:५८ मा प्रकाशित (१ साल अघि) २५८ पाठक संख्या

काठमाडौँ । राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ।

टुटल स्थापना गर्दाका साझेदारहरूको उजुरीका आधारमा काठमाडौं प्रहरी परिसरले भट्टलाई बिहीबार पक्राउ गरेको हो।

काठमाडौं परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले भट्टलाई आपराधिक विश्वासघात र प्रतिलिपि अधिकार संरक्षणको उजुरीका आधारमा पक्राउ गरिएको बताएका छन्।

‘टुटल कम्पनी खोल्ने बेला साझेदारहरूबीच सम्मझौता भएको रहेछ। त्यसबेला लगानीका लागि पनि सम्झौता भएको देखियो’, खत्रीले भने, ‘टुटल स्थापना गर्दा साझेदारबीच लगानी र ट्रेडमार्कबारेमा पनि सम्झौता भएको रहेछ। तर त्यसबीचमा त्यसबीचमा उनीहरूबीच समझदारी हुन नसक्दा समस्या देखिएको रहेछ।’

साझेदारहरूको विवादबीच शिक्षित भट्टले टुटललाई अघि बढाएका थिए। तर विवाद बढ्दै गएपछि दुई वर्षअघि टुटल बन्द भएको थियो।

तर भट्टले फेरि केही महिना अघिदेखि टुटललाई सञ्चालनमा ल्याएका थिए। यहीबीचमा टुटल छाडिसकेका उनका साझेदारहरूले नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिए।

त्यो उजुरी पनि अहिले काठमाडौं प्रहरी परिसरमा आइपुगेको छ। प्रहरीले पक्राउ परेका भट्टलाई अब आपराधिक विश्वास घात र प्रतिलिपि अधिकार संरक्षणसम्बन्धी मुद्दामा म्याद थप्न लागेको छ।