आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

सुपर लिग : पोखराद्धारा इलामलाई १–० गोलले पराजित

गोकर्णेश्वर खबर२० मंसिर २०८०, बुधबार १९:४६ मा प्रकाशित (१ साल अघि) ४७९ पाठक संख्या

काठमाडौं । नेपाल सुपर लिगमा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई हराएको छ र शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार भएको खेलमा पोखराले इलामलाई १–० गोल अन्तरले हराएको हो । उसका लागि दोस्रो हाफको सुरुमै सञ्जीव विष्टले गरेको गोल नै निर्णायक बन्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा इलामले केही राम्रो अवसर सिर्जना गरेको थियो, तर गोल गर्न सकेन ।

छैटौं मिनेटमा नै इब्राहिमको क्रसमा ओमारले सिक्स यार्ड बक्सबाट हानेको हेडर क्रसबार माथिबाट बाहिरिएको थियो । १३औं मिनेटमा इब्राहिमले अर्को अवसर गुमाए ।

खेलको ३०औं मिनेटमा इलामका फोडे कमाराको प्रहार पोखराका गोलकिपर प्रिसोलाई लाग्दै सेण्टर बार नजिकबाट बाहिरिएको थियो ।

दोस्रो हाफमा भने पोखरा हाबी भयो । खेल सुरु भएको दोस्रो मिनेटमा नै मोसेसको प्रहार इलामका गोलकिपर विकेश कुथु विट भइसकेको अवस्थामा फस्र्ट बारमा लागेर फर्किएको थियो । अर्को मिनेटमा पोखराले गोल नै गर्‍यो ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका मार्की प्लेयर आयुष घलानको प्रहार इलामका खेलाडीले क्लियर गर्न नसक्दा सञ्जीवले बल पाएका थिए, जसमा उनले वान टच गोल गरे । बाँकी अवधिमा भने दुबै टोलीले प्रयास गरेपनि गोल हुन सकेन र पोखरा विजयी भयो ।

यो जितसँगै पोखरा थन्डर्स ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । स्पोर्टिङ इलाम भने ४ खेलबाट ३ अंकसहित छैटौं स्थानमा छ ।