आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

कांग्रेस प्रचण्डपथको भरिया बनेर हिँडिराखेको छ : अध्यक्ष ओली

गोकर्णेश्वर खबर१५ मंसिर २०८०, शुक्रबार १८:०१ मा प्रकाशित (१ साल अघि) १०९ पाठक संख्या

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार आफैं ढल्न सक्ने बताएका छन्।

गठबन्धनका छेस्का अड्याएर सरकार बनेकोले जुन कुनै समय ढल्न सक्ने ओलीले बताए।

‘यो सरकार कुनै समय आफैं पनि ढल्न सक्छ। यो कुनै खुट्टा भएको सरकार नै होइन,’ डडेल्धुरामा शुक्रबार भएको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘यो त गठबन्धनका छेस्का टेकाएर अड्याएको सरकार हो।’

अहिलेको सरकारको कुनै सिद्धान्त, नीति र कार्यक्रम नभएको ओलीले बताए।

‘यो सरकार माओवादीको नीति र प्रचण्डपथमा हिँड्न खोजेको छ तर सकिराखेको छैन,’ ओलीले भने, ‘कांग्रेस प्रचण्डपथको भरिया बनेर हिँडिराखेको छ।’

उनले प्रतिगामी तत्वहरू फेरि राजतन्त्र ल्याउँछु भनेर हिँडेको बताए।

‘प्रतिगामी तत्वहरू मरेको राजतन्त्रको चिहान खनेर फेरि राजतन्त्र ल्याउँछु भनेर कुदेका छन्। भूतप्रेतवादी तत्वहरू,’ अध्यक्ष ओलीले भने, ‘देश पछि हट्न सक्दैन, अघि बढ्छ। जनताको सार्वभौमसत्ता व्यक्ति र परिवारमा केन्द्रित हुन सक्दैन।’

जनताका कुरा सुन्न पार्टीले सङ्कल्प यात्रा गरेको उनले बताए।