आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

रुसी सेनामा भर्ती भएका नेपालका सन्दीप थपलिया युक्रेनको बाख्मुत युद्धमा मारिए

गोकर्णेश्वर खबर३ कार्तिक २०८०, शुक्रबार १७:४९ मा प्रकाशित (१ साल अघि) २६४ पाठक संख्या

काठमाडौं । केही महिनाअगाडि मात्र रुसी सेनामा भर्ती भएका नेपालका सन्दीप थपलियाको युक्रेनी सेनाको कारबाहीमा परेर मृत्यु भएको छ । न्युयोर्क टाइम्सको रिपोर्टअनुसार युक्रेनको बाख्मुत शहरमा भएको युद्धमा नेपालका सन्दीप युक्रेनी सेनाको कारबाहीमा मारिएका हुन् ।

रुसले सन् २०२२ को फेब्रुअरीयता युक्रेनमा आक्रमण गरिरहेको छ । यस्तोमा रुस र युक्रेन दुवैले विदेशी मूलका मानिसहरूलाई सेनामा भर्ती गर्न थालेका छन् ।

केही समयअगाडि मात्र सन्दीपले आफ्नी बहिनी शान्तालाई आफू रुसी सेनामा भर्ती भएको खबर सुनाएका थिए । नेपालमा ल्याब टेक्निसियन पढेका उनी लामो समय जागिर नपाएपछि रुसी सेनामा भर्ना हुन रुस गएका थिए ।

सन्दीपलाई रुसी सेनामा महिनाको ७५ हजार रुबल अर्थात् नेपालको झण्डै १ लाख रुपैयाँ तलब दिने बताइएको थियो ।

अन्तिमपटक उनले परिवारलाई युद्धमा भएकाले पछि फोन गर्ने बताएका थिए । त्यसपछि उनी बाख्मुतको युद्धमा मारिए । न्युयोर्क टाइम्सका अनुसार सन्दीपजस्ता नेपाली युवाहरू रुस र युक्रेन दुवैतर्फका सेना बनेका छन् ।