धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा हमासको आक्रमणबाट सुदूरपश्चिमका मृत्यु भएका विद्यार्थीका शव छिट्टै ल्याइने बताएका छन्।
उनले सोमबार कैलालीको गौरीगंगामा नगरपालिकाको भवन उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताए।
इजरायलमा हमासको आक्रमणबाट सुदूरपश्चिम विश्वविद्यालयका कृषि संकायका अध्ययनरत १० जनाको विद्यार्थीको दुःखद हत्या भएको उनले बताए।
घटनापछि त्यहाँ भएका नेपालीहरूको उद्धारका लागि तुरून्तै निर्णय गरेर जहाज पठाउन आफूले निर्देशन गरेको उनले बताए।
सोपछि परराष्ट्रमन्त्री एनपी साउद इजरायल गएर २५० बढी नेपालीहरूलाई जहाजले ल्याएर आएको उनले बताए।
प्रधानमन्त्री दाहालले मृतक ५ जनाको शव नेपाल सरकारलाई प्राप्त भएको बताउँदै अरू पाँच जनाको शव छिट्टै प्राप्त गर्न पहल गरिएको बताए।
यस्तै, इजरायलमै सम्पर्कविहीन भएका विपिन जोशीको खाजी तीव्र पारिएको उनले बताए।
जोशीको इजरायलमा मात्र होइन हमास र वरिपरिका देशमा पनि खोजी भइरहेको प्रधानमन्त्रीले बताए। जोशीका बारेमा छिट्टै पत्ता लाग्ने विश्वास उनले व्यक्त गरे।
प्रधानमन्त्री दाहालले गौरीगंगा नगरपालिकाको नयाँ बनेको प्रशासकीय भवनको उद्घाटन गर्न कैलाली पुगेका हुन्। उनले गौरीगंगामा परिकल्पना गरिएअनुसार रिङरोड निर्माण गर्न नेपाल सरकारले सक्दो सहयोग गर्ने विश्वास दिलाए।
यस्तै, कटान र डुबानको समस्याबारे सांसदहरूले सदनमै कुरा उठाएकाले पनि सरकारले नदी नियन्त्रण गर्न सक्दो सहयोग उनले बताए।