आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

ठूला दललाई रविको झटारो : उद्देश्य,कार्यशैली, चरित्र, गन्तव्य एउटै भएपछि, सटर चाहिँ किन बेग्लाबेग्लै?

गोकर्णेश्वर खबर२७ आश्विन २०८०, शनिबार १३:५७ मा प्रकाशित (१ साल अघि) २९३ पाठक संख्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोशी प्रदेशमा महागठबन्धनले सार्थकता पाएको टिप्पणी गरेका छन्।

शनिबार कोशी प्रदेशमा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेपछि सभापति लामिछानेले उक्त टिप्पणी गरेका हुन्।

गएको उपनिर्वाचनमा आफूलाई र स्वर्णिम वाग्लेलाई हराउन पुराना दलहरूले महागठबन्धन बनाउन लागेको उनले बताए। तर एक दलले हस्ताक्षर नगरेपनि शनिबार भने कोशीमा सार्थकता पाएको बताएका हुन्।

उनले आगामी निर्वाचनसम्म पनि पुराना दलहरू सबै एकै ठाउँमा बसेर महागठबन्धन बनाउन सुझाव दिएका छन्। महासहमति नै गरेर सकेसम्म एउटै चुनाव चिन्हमा निर्वाचन लड्न उनको सुझाव छ।

‘गत उपनिर्वाचनमा मलाई र डा. स्वर्णिमलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको ‘महागठबन्धन’ले आज कोशीमा सार्थकता पाएछ। राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘र आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठबन्धन गरी, सकेसम्म चुनाव चिन्ह समेत एउटै हुने गरी ‘महासहमति’ पनि गर्नु होला। ढिला नगरी ‘महागठबन्धनवादी मोर्चा’को घोषणा सभा बारेपनि सुन्न पाइयोस्। उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै भएपछि, सटर चाहिँ किन बेग्लाबेग्लै?’

नेपाली कांग्रेसका शेखरपक्षधर केदार कार्कीलाई नेकपा एमालेका ३९ सांसद र कांग्रेसका ८ सांसदको समर्थन छ। ४७ सांसदको समर्थन पाएपछि उनी शनिबार मुख्यमन्त्री बनेका हुन्। उनी मुख्यमन्त्री बनेसँगै गठबन्धनका दलहरूले पनि समर्थन गर्ने बताएका छन‍्।