आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

मोदी नेपाली भूमि गुञ्जी आएकोबारे सदनलाई जानकारी चाहियो : सूर्य थापा

गोकर्णेश्वर खबर२५ आश्विन २०८०, बिहीबार १६:०१ मा प्रकाशित (१ साल अघि) २८१ पाठक संख्या

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद सूर्य थापाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा प्रवेश गरेको विषयमा सदनलाई जानकारी गराउन माग गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद थापाले भारतका प्रधानमन्त्री मोदी सुदूरपश्चिमको सीमावर्ती क्षेत्र कालापानी, लिपुलेक र लिम्पयाधुरा अन्तर्गत पर्ने नेपाली भूमिमा आएको भन्ने विषयको सत्यतथ्य जानकारी गराउन सरकारसँग माग गरेका हुन्।

‘सदन यसबारेमा जानकारी चाहन्छ। जानकारी चाहियो,’ उनले भने।

उनले शासकहरू यस्तो अवस्थामा मौन हुने विगतमै रोग भएको समेत बताए।

‘नेपाल सरकार किन बेखबर छ शासकहरू यस्तो अवस्थामा मौन हुने विगतकै रोग हो। सरकारको तर्फबाट यो सदन वेखबर बस्न मिल्दैन,’ उनले भने।

टाइम्स अफ इन्डियाका अनुसार मोदी बिहीबार नेपालको भूमिभित्र पर्ने गुञ्जी गाउँमा पुगेका छन्। त्यहाँ उनले स्थानीयहरूसँग छलफल पनि गरेका छन्।

गुञ्जी जानुअघि ट्विट गर्दै मोदीले आफ्नो भ्रमणबारे सामाजिक सञ्जाल एक्समा गुञ्जी गाउँका वासिन्दासँग पनि संवादको सुअवसर मिल्ने बताएका थिए।

गुञ्जी गाउँ भारतले अतिक्रमण गरेको नेपाली भूमि हो। २०७७ जेठ ३१ गते नेपालको संसदले लिम्पियाधुरासम्मको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने गरी संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको थियो।

नेपालले नयाँ नक्सा सार्वजनिक गरेको झन्डै साढे ३ वर्षपछि भारतीय प्रधानमन्त्री मोदी गुञ्जी गाउँ गएका हुन्।

आजकै संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि मोदी नेपाली भूमिमा आएको बारे सरकारले जानकारी दिनुपर्ने बताएका थिए।