आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

संसदमा जति घोक्रो फुलाए पनि जनतालाई संघियता मान्य छैन भनेर देखाइसके : अध्यक्ष केसी

गोकर्णेश्वर खबर२१ आश्विन २०८०, आईतवार १९:१२ मा प्रकाशित (१ साल अघि) १५० पाठक संख्या

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनतालाई संघीय व्यवस्था मान्य नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले नेपाली जनताले नेपालमा एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुन नसक्ने कुरा महसुस गरिसकेको बताए । उनले नेपाली जनताले संघीयता मान्य छैन भनेर देखाइसकेको बताए ।

अध्यक्ष केसीले जनतालाई मान्य नहुँदा पनि संघीयताको मुरली किन बजाइरहेको भनेर सांसदहरूलाई प्रश्न गरे । उनले मुख्यमन्त्रीहरूलाई भैँसेपाटीमा दरबार बनाउनु नै संघीयता हो भनेर प्रश्न गरे ।

‘नेपाल एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुँदै होइन । नेपाली जनताले महसुस गरिसके । हामीले यहाँ जति घोक्रो फुलाए पनि नेपाली जनतालाई यो मान्य छैन भनेर देखाइसके । कोशीमै देखाइरहेका छौँ । यस्तो देख्दादेख्दै किन हामीले लाज पचाइरहेका छौँ ? हामीले किन जबर्जस्ती गरिराखेका छौँ?,’ उनले भने ।

अध्यक्ष केसीले संघीयताले गरी नखाएको टिप्पणी गरे । उनले प्रजातान्त्रिक विकेन्द्रीकरण गरेर स्थानीय तहलाई अधिकार दिनुपर्ने बताए ।