आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

इजरायलमा रहेका नेपालीलाई छिटो उद्धार गरी सुरक्षित स्थानमा लैजान कांग्रेस सभापति देउवाको माग

गोकर्णेश्वर खबर२१ आश्विन २०८०, आईतवार १७:०४ मा प्रकाशित (१ साल अघि) १७५ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ।

सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति निकालेर इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका हुन्।

‘इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा र तत्काल सुरक्षित स्थानमा पुर्‍याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउन नेपाल सरकारले अविलम्ब कुटनीतिक पहल गर्न कांग्रेस माग गर्दछ,’ सभापति देउवाले निकालेको विज्ञप्तिमा उल्लेख छ।

इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन (आइओएम), अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग कांग्रेसले आग्रह पनि गरेको छ।

हमासले शनिबार इजरायलमा आक्रमण गर्दा नेपालीहरू पनि घाइते भएका छन्। इजरायलमा चार हजार पाँच सय केयरगिभर र दुई सय ६५ जना नेपाली विद्यार्थी थिए।