आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

प्रधानमन्त्रीबाटै जातीय द्वन्द्व निम्त्याउने प्रयास भएको कांग्रेस नेता कोइरालाको आरोप

गोकर्णेश्वर खबर९ भाद्र २०८०, शनिबार २२:२२ मा प्रकाशित (१ साल अघि) १२३ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाटै मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास भइरहेको आरोप लगाएका छन्।

शनिबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले आदिवासी दिवसका अवसरमा प्रधानमन्त्रीको हैसियतले माओवादीले बहुमत ल्याए पहिचानको आधारमा प्रदेशको नाम राख्ने भनेर मुलुकमा जातीय द्वन्द्व निम्त्याउन खोजेको बताएका हुन्।

‘प्रधानमन्त्री आफैं जातीय द्वन्द्व बढाउने काम गरिरहनुभएको छ,’ कोइरालाले भने।

उनले पछिल्लो समय सुनसरीको धरानमा भएको घटनाले पनि मुलुकमा असर गर्ने बताए । ‘मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिँदैन,’ उनले भने, ‘संविधानमा लेखिएका कुरा बाहिर कदापी स्वीकार्य हुँदैन । कुनै पनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य कहिंकतैबाट हुनुहुँदैन।’

कोइरालाले नेपालमा धार्मिक सद्भाव भड्काउने प्रयास भइरहेको सद्भाव कायम राख्न आवश्यक भएको बताए।

मुलुकको राजनीति कता मोडिएको भन्दा पनि अफ्ठ्यारो परिस्थितिमा गएकोमा कोइरालाले चिन्ता प्रकट गरे।