आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुनसक्छ: शेखर कोईराला

गोकर्णेश्वर खबर१८ श्रावण २०८०, बिहीबार १७:३२ मा प्रकाशित (१ साल अघि) १५५ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालकै संलग्नता हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।

कांग्रेस नेता कोइरालाले बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराइ सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले आशंका उब्जिएको धारणा व्यक्त गर्नुभयो । नेता कोइरालाले सुन समातिएको साता दिन अघिसम्म प्रधानमन्त्री दाहालको स्वकीय रहनुभएका नवराज ढुंगानालाई राजश्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको प्रष्ट्याउनुभयो ।

कांग्रेस नेता कोइरालाले प्रहरीलाई अनुसन्धानमा संलग्न नगराइ राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमले खोज्नुपर्ने भन्दै आशंका अभिब्यक्त गर्नुभएको छ। कोइरालाले भूटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण अहिले सुन प्रकरणपछि सेलाएको बताउँदै सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण निस्किने र सुन तस्करी प्रकरणबारे भइरहेको अनुसन्धान आझेलमा पर्ने उहाँले दाबी गर्नुभयो । नेता कोईरालाले सुन प्रकरणमा माथिल्लो तहका नेताहरुको संलग्नता रहेको आशंका गर्दै घटना सामसुम बनाउने प्रयास भइरहेको बताउनुभयो । देशमा अराजकता र दण्डहीनता बढीरहेको बताउँदै उहाँले विभिन्न हत्याका दोषीलाई राजनीतिक लेपमा छुट दिनु देशका लागि राम्रो नभएको धारणा राख्नुभयो ।

कांग्रेस नेता कोइरालाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरिरहेको प्रसंग निकाल्दै बोल्ने कुरा संसदमा बोल्दा राम्रो हुने र त्यसमा सत्तापक्षका सांसदहरुले पनि आफ्ना धारणा राख्न पाउने बताउनु भयो । कुनै घटना आउने बित्तिकै शीर्ष तीन दलका नेताहरु छलफलमा बसिरहेकोप्रति पनि आशंका व्यक्त गर्नुभयो ।

नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफू नमिलेको र बोलाएपछि मात्रै पार्टी सभापति कहाँ जाने गरेको बताउनु भयो । उहाँले पार्टी सभापतिले गरेका गल्ती र कमजोरीहरुमा आफूले असहमति राखिरहेको स्पष्ट पार्नुभयो ।