आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

ललिता निवास जग्गा प्रकरण : सीआईबीले छाडेका तीनसहित १७ जनालाई पुनः पक्राउ गर्ने बाटो खुल्यो

गोकर्णेश्वर खबर५ श्रावण २०८०, शुक्रबार १९:१७ मा प्रकाशित (१ साल अघि) २४४ पाठक संख्या

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) असार १२ गते पक्राउ गरेर छाडेका तीनसहित १७ जनालाई पुनः पक्राउ गर्न पाउने भएको छ।

उनीहरूलाई पक्राउ नगर्न २०७९ साउन १९ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले दिएको अन्तरिम आदेश शुक्रबार खारेज भएको हो।

उक्त आदेश खारेज गर्न माग गर्दै नेपाल प्रहरीले भ्याकेट दर्ता गराएको थियो। न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले प्रहरीको मागबमोजिम आदेश जारी गरेसँगै उनीहरूलाई पुनः पक्राउ गर्न बाटो खुलेको छ।

सीआईबीले पक्राउ गरेपनि मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र भूपेन्द्रमणि केसीले अदालतबाट आदेश लिइसकेको प्रमाण पेश गरेपछि त्यसैदिन छाडिएको थियो।

यसअघि अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएकासहित ४ सय ६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति लिइसकेको छ। सीआईबीले अहिले उनीहरुविरुद्ध कीर्ते र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ।

यो कसुरमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी ब्यवस्था छ।