काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साहले महानगरभित्र हिन्दी फिल्म प्रतिबन्धित गरिदिएपछि यसको तरंग भारतसम्म पुग्यो ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को संवादमा आपत्ति जनाउँदै उनले कुनै पनि हिन्दी फिल्म काठमाडौंमा चल्न नदिने अडान लिएका थिए ।
तर, अदालतले बालेनको कदमलाई निस्तेज पार्दै भारतीय फिल्म नरोक्न आदेश दिएको छ ।
अदालतको आदेशप्रति बालेन सन्तुष्ट छैनन् । उनले राष्ट्रियताको सवालमा अदालतलाई समेत नमान्ने अडान लिएका छन् । आम दर्शकको समर्थन बालेनलाई छ । अहिले काठमाडौंका हलहरूमा भारतीय फिल्म चले पनि हेर्ने दर्शक छैनन् ।
यही विषयको सेरोफेरोमा एउटा भारतीय सञ्चारमाध्यममा बालेनको अन्तर्वार्ता प्रकाशित भएको छ । दैनिक भास्करसँगको अन्तरवार्तामा बालेन स्पष्ट र कडा रूपमा पेश भएका छन् । उनले भनेका छन् कि नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि प्रहार गर्ने कुनै पनि हर्कत मञ्जुर हुँदैन ।
मेयर भएदेखि कुनै पनि नेपाली सञ्चारमाध्यममा अन्तरवार्ता नदिएका बालेनले विदेशी मिडियालाई सम्भवतः पहिलो अन्तरवार्ता दिएका हुन् । नेपाली पाठकका लागि उपयोगी ठानेर अन्तरवार्ता यहाँ नेपालीमा अनुवाद गरिएको छ ।
भास्करः यस्तो के भयो कि हिन्दी फिल्ममाथि प्रतिबन्ध लगाउनु पर्यो ङ तपाईँ मेयर हुनुहुन्छ, तपाईँसँग त यसको अधिकार पनि छैन नि ?
बालेनः मलाई त यो प्रश्न नै ठीक लागिरहेको छैन । म कसरी आफ्नो अधिकार क्षेत्र बाहिर गएँ ? पहिले यो बताउनुस् ।
भास्करः यो प्रश्न यस कारण सोधियो कि नेपालको संविधान अनुसार स्थानीय निकायलाई कुनै पनि फिल्ममाथि प्रतिबन्ध लगाउने अधिकार हुँदैन । यसका लागि सेन्सर बोर्ड छ । तपाईँले कसरी प्रतिबन्ध लगाउनुभयो ?
बालेनः हामीले पूरै नेपालका फिल्म रोकेका छैनौँ । सिंगो देशमा हामी कुनै पनि फिल्म रोक्न सक्दैनौँ । तर हाम्रो स्थानीय सरकारको दायरामा आउने हलहरूमा कस्तो फिल्म देखाउने, के देखाउनु ठीक हुन्छ वा हुँदैन त्यो हामी तय गर्न सक्छौँ ।
भास्करः महानगरपालिकाको काम त शहरको व्यवस्थापन हेर्ने, कर असुल्ने हो । फिल्म प्रतिबन्धको निर्णय किन लिनुभयो ?
बालेनः संविधानको धारा ४८ मा नागरिकको कर्तव्य लेखिएको छ । देशको पहिचान, स्वाधीनता, इतिहासलाई बचाउनु हरेक नागरिकको जिम्मेवारी हो । यो केवल एउटा मेयरको कर्तव्य होइन ।
आदिपुरुष रामायणमाथि बनेको आधिकारिक फिल्म हो । यो संसारभर चलिरहेको छ । यति ठूलो जनसंख्यालाई प्रभावित गर्ने फिल्मले कुनै अर्को देशको विभूति सीतालाई भारतको बताइदियो । यो केवल नेपालको मात्र आपत्तिको विषय होइन ।
यो फिल्म संसारभर जहाँ पनि रोक लाग्नुपर्छ । नेपालमा त म मेयरको हिसाबले बोलिरहेको छु । यसमाथि हाम्रो सरकार, संस्कृति मन्त्रालय र सञ्चार मन्त्रालयले ध्यान दिनुपर्छ । केवल नेपालमा सेन्सर गरेर चलाउनुको अर्थ हुँदैन । यसले केही फरक पर्नेछैन ।
यसलाई यसरी सम्झिऊँ, बलिउडका फिल्ममा पाकिस्तानमा सिर्फ गोली चलाइन्छ, बम विस्फोट हुन्छ । त्यो देखेर श्रीलंका र नेपालका नागरिक पाकिस्तान जानै डराउन लागेका छन् ।
मानिसहरूलाई लाग्छ कि पाकिस्तानमा केवल आतंक छ । यस खालको इमेज फिल्मले नै बनाएको हो ।
फिल्महरू यति शक्तिशाली हुन्छन् कि तिनीहरूले मानिसहरूको सोच बदल्न सक्छन् । यदि कुनै फिल्मले सीतालाई भारतीय बताए भने मानिसहरू त्यसलाई नै सही ठान्छन् । नेपालको नागरिकका हिसाबले यसको विरोध गर्नुपर्छ ।
सबै हिन्दी फिल्मको विरोध यस कारण गरिएको हो कि यो हाम्रो देशमा विक्री भइरहेको छ । नेपालमा भारतको व्यापार छ । यहाँका जनताले यस्तो भन्ने हैसियत राख्नुपर्छ कि यो सही होइन । भारतको फाइदाका लागि हामी आफ्नो स्वाधीनता छाडिदिऊँ, यस्तो हुन सक्दैन ।
भारतमा पनि सेन्सर बोर्ड छ । उसले पनि यस्तो चिजहरू रोक्नुपर्छ ।
भारत सरकारले यसलाई रोक्दैन भने हामीले रोक्नुपर्छ । व्यापार आफ्नो ठाउँमा छ, तर यसको कारणले नेपालको स्वाधीनतामा सम्झौता गर्न सकिँदैन । यस्तो पहिले पनि भएको छ । फिल्म चाँदनी चौक टु चाइनामा बुद्धका बारेमा गलत कुरा भनिएको थियो । अनिल कपुरको फिल्म घरबाली बाहरबालीमा पनि गलत कुरा देखाइएको थियो । त्यतिबेला पनि फिल्महरू ब्यान्ड भएका थिए ।
भारत सरकारले आफ्नो सेन्सर बोर्डका मानिसहरूलाई सम्झाउनुपर्छ कि यस्तो गल्ती गर्यौ भने दुई देशको व्यापार तथा सम्बन्ध बिग्रिन सक्छ ।
भास्करः जुन संवादको कारणले आदिपुरुषलाई प्रतिबन्ध गरियो, त्यो त फिल्ममा छँदै थिएन । नेपालको सेन्सर बोर्डले त्यसलाई हटाइसकेको थियो । यस्तोमा प्रतिबन्धको आवश्यकता किन पर्यो ?
बालेनः नेपालमा जसले फिल्म देखेँ, त्यो संवाद हेर्न पाएनन् । सेन्सर बोर्डले त्यसलाई काटिदियो । भारतको मूल कपि यहाँ कसैले पनि देखेन । भारतीय पक्षसँग यो कुरा कसैले उठाएन ।
नेपालका मानिसहरूले त संवाद नै सुनेका छैनन् भने कसरी यस विषयमा भन्न सक्छन् ?
भास्करः तपाईँ लगातार भारतविरोधि अभिव्यक्ति दिइरहनु भएको छ । के तपाईँलाई लाग्छ कि तपाईँले यसलाई सच्याउनुपर्छ ?
बालेनः होइन, मलाई त्यस्तो लाग्दैन ।
भास्करः एकपटक ऋतिक रोशनको अभिव्यक्तिलाई लिएर काठमाडौंमा हिंसा भएको थियो । कयौँ मानिसहरूको ज्यान गयो । तपाईँलाई लाग्दैन कि यस्ता कुरामा संवेदनशील हुनुपर्छ ?
बालेनः मैले जथाभाबी कुरा गरेको भए सोच्नुपर्ने आवश्यकता हुन्थ्यो । यो कुराको पुष्टि त फिल्मका लेखकले नै गरे । यदि त्यस्तो कुनै संवाद थिएन भने सेन्सर बोर्डले किन काट्यो ? त्यसैले मेरो अभिव्यक्तिको आधार त छ नै ।
यो भन्नुको म भारत विरोधी हुनु होइन । भारतीय मानिसहरूको खिलाफमा जानु पनि होइन ।
ऋतिक रोशन काण्डसँग यसलाई जोड्न सकिँदैन किनकि त्यसबेला त हामी पूरै भारतको विरोधी भएका थियौँ ।
भास्करः पाटन उच्च अदालतले भारतीय फिल्ममाथि प्रतिबन्ध हटाउनु आदेश दिएपछि तपाईँले लेख्नुभयो कि न्यायपालिका र नेपाल सरकार भारतको गुलाम बनिसकेका छन् । के तपाईँ आफूलाई उनीहरूभन्दा माथि ठान्नुहुन्छ ?
बालेनः म आफूलाई त्यो स्तरको राजनीतिज्ञ सम्झिन्न, नागरिक सम्झिन्छु ।
भास्करः के कुनै नागरिकले अदालतलाई यस्तो चुनौती दिन सक्छ ?
बालेनः मैले चुनौती दिएको छैन । मैले भनेको छु कि म सजायका लागि तयार छु । यसको मतलब यो होइन कि म अदालतलाई मान्दिनँ । देश, स्वाधीनता तथा इतिहासको कुरा आउँदाखेरि त म मान्दिनँ ।
भास्करः भारत र नेपालको सम्बन्धका विषयमा तपाईँ के सोच्नुहुन्छ ?
बालेनः म पनि चाहन्छु कि नेपाल र भारतको सम्बन्ध राम्रो होस । नेपालमा पर्यटनको धेरै सम्भावना छ । यहाँ भारत र चीनका पर्यटक मात्र आउँदा पनि पर्याप्त हुन्छ । युरोपका पर्यटक नआए पनि चल्छ । त्यसैले सांस्कृतिक, धार्मिक र पर्यटनको हिसाबले राम्रो सम्बन्धको आवश्यकता छ ।
भास्करः तपाईँले भारतीय संसदमा नक्सा राखिएको जवाफमा आफ्नो अफिसमा ग्रेटर नेपालको नक्सा लगाउनुभयो । तपाईँ भारतले केही गर्दा तुरुन्त प्रतिक्रिया किन दिनुहुन्छ ?
बालेनः भारतले संसदमा लगाएको नक्सालाई सांस्कृतिक नक्शा बतायो । हामीले पनि ग्रेटर नेपालको नक्सालाई ऐतिहासिक भनेर लगाइदिएका हौँ ।
भास्करः काठमाडौंमा हिन्दी फिल्म प्रतिबन्धित छन् । नेपालका हिन्दी फिल्म व्यवसायीहरूलाई प्रतिबन्ध फिर्ता लिने भरोसा दिनुहुन्छ ?
बालेनः अदालतले प्रतिबन्ध हटाइदिएको छ । म भन्न चाहन्छु, नेपाल सरकारले भारत सरकार र त्यहाँको सेन्सर बोर्डलाई भन्नु पर्छ कि कुनै पनि देशको इतिहासलाई तोडमोड गरेर प्रस्तुत गर्न नदिइयोस् ।