आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

पुस्तक विमोचनमा दिएको अभिव्यक्तिबारे एमालेलाई लक्षित गर्दै प्रचण्डले भने- बेलुनरुपी बबन्डर चाँडै फुट्ने छ

गोकर्णेश्वर खबर२० असार २०८०, बुधबार १९:०५ मा प्रकाशित (१ साल अघि) २७५ पाठक संख्या

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचनमा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजिएको आरोप लगाएका छन्।

अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै उनले सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितमले बोलेको कुरा आफूले बोले पनि त्यसमै बबण्डर मच्चाउन खोजिएको बताए।

उनले आफूले पुस्तक विमोचन कार्यक्रममा प्रितम सिंह सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउन कहिले दिल्ली, कहिले नेपालका पार्टीहरुसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको बताए।

प्रधानमन्त्री दाहालले बेलुनरुपी बबन्डर चाँडै फुट्ने पनि दाबी गरे। उनले यस कुराले विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्ने कुरा प्रमाणित गर्ने बताए।

‘अब आज म सुन्दैछु, एउटा किताव विमोचन गर्दै गर्दा मैले नबोलेको कुरालाई लिएर बबन्डर गरिँदै रहेछ। मैले भने उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ’, उनले भने, ‘उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ पुग्नुहुन्छ, कहिले दिल्ली, कहिले नेपालका पार्टीहरुसँग लाग्नुहुन्थ्यो भन्ने उहाँबारे भनेको कुरालाई उचालेर फेरि एक पटक बबन्डर गर्न खोजिएको छ, त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ।’

उनले चाँडै नै माओवादीहरु एउटै केन्द्रमा आउने र सबै संगठन एउटै केन्द्रमा आएर नयाँ समाजवादी आन्दोलन सुरु गर्ने बताए।