आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

रोटरी क्लब अफ काँकरभिट्टा : १४ ओैँ पदस्थापन सम्पन्न

गोकर्णेश्वर खबर२० असार २०८०, बुधबार ०८:४४ मा प्रकाशित (१ साल अघि) ११२ पाठक संख्या

मेचीनगर । अन्तराष्ट्रिय रोटरी क्लब नेपाल भुटान अन्तरगत रोटरी क्लब अफ काँकरभिट्टाको १४ ओैँ पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

धुलाबारीस्थित होटल मेची क्राउनमा रोटरी क्लबका डिष्ट्रिक गर्भनर नोमिनी बिनोद कोईरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि कोईराला र विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरूपमा रोटरी थिमको व्यानर अनावरण गरी विधिवतरूपमा उद्घाटन गरेका थिए ।

प्रमुख अतिथि कोइराला र असिस्टेन्ट गर्भनर(एजी) दिपु सन्दिप चापागाईको उपस्थितिमा क्लबका निवर्तमान अध्यक्ष सुजन प्रधानले सन् २०२३-२४ का अध्यक्ष इञ्जिनियर रूद्र मैनालीलाई क्लबको चार्टर सर्टिफिकेट, प्रेसिडेन्ट कलर, ग्यबल र गन प्रदान गरी विधिवतरूपमा पद हस्तान्तरण गरे । त्यस लगत्तै प्रमुख अतिथि डिष्ट्रिक गर्भनर नोमिनी कोईरालाले नवनिर्वाचित अध्यक्ष इञ्जिनियर रूद्र मैनालीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

सपथग्रहण पश्चात सन् २०२३-२४ का अध्यक्ष मैनालीले मिटिङ कल गरी आफ्नो टिमको परिचय गराउदै भावी योजना प्रस्तुत गरेका थिए । अध्यक्ष मैनालीले आफ्नो कार्यकालका पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । साथै रोटरी क्लबका सदस्यहरूलाई रोटरी पिन प्रदान गरेका थिए ।

रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२३-२४ का अध्यक्ष इञ्जिनियर रूद्र मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा सन २०२२-२३ का अध्यक्ष सुजन प्रधानले आफ्नो कार्यकालमा गरेका कामको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि डिष्ट्रिक गर्भनर नोमिनी विनोद कोइरालाले नवनिर्वाचित सबै पदाधिकारीसहित सदस्यहरूलाई बधाई ज्ञापन गर्दैँ कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । यो टिमसँग रोटरीले निक्कै आशा लिएको उनले स्पष्ट पारेका थिए । रोटरी निक्कै ठुलो महासागर रहेको भन्दै यसबाट जति लिनुपर्ने हो लिन नसकेको बताए ।

यो क्लबमात्र नभएर अन्तर्राष्ट्रिय क्लबको यूनिट रहेको स्पष्ट पारेका थिए । २ सयबढी देशमा रोटरीका सदस्यहरू भएको र रोटरीको सदस्य भएकै कारण विश्वमा रोटरी क्लबमा गर्वका साथ सहभागिता जनाउन सकिने उनको भनाई छ । यो संस्था नाफामुखी नभएर सेवामुखी भएको, रोटरीको नेतृत्वमा पुग्ने व्यक्तिले गौरव मान्ने र समाजमा केही गर्ने अवसर पनि मिलेको उनको भनाई थियो । नेतृत्वमा आइसकेपछि रोटरीका गतिविधि बुझे योजना पुरा नहुने र डेढबर्षअघि नै उस्ले रोटरी बुझी सकेको उनले बताइन् ।

विशिष्ट अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले सच्चा रोटरीले नेतृत्व विकाससँगै समाजका हरेक क्षेत्रमा जिम्मेवारीपुर्वक कार्य गर्ने बताए । रोटरीमा भिन्नरूपमा काम गर्ने अवसर मिल्ने र जिम्मेवारी पुरा गर्दा आनन्द मिल्ने बताए । रोटरीले दाहिने हातले दिदा देब्रे हातले थाहा नपाउने र रोटरीमा लागेपछि दिनैपर्छ भन्ने मान्यता रहेको भन्ने गलत बुझाई रहेको उनले स्पष्ट पारे ।

विशिष्ट अतिथि कोशी प्रदेशसभाका निवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले रोटरियनहरूले अब राजनीति दलका नेताहरूलाई धेरै कुरा सिकाउनु पर्ने र राजनीति दलका नेताहरूले धेरै कुरा सिक्न बाँकी रहेको विचार राखेका थिए ।

विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले रोटरीले स्वास्थ्य शिक्षालगायत समाजका विभिन्नक्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गरेको बताइन् । कोभिड महामारीका बखत यसको नियन्त्रण र रोकथाममा रोटरीले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै रोटरीबाट नेपालका विभिन्न राजनीति दलहरूले थुप्रै कुराको अनुशरण गर्नुपर्ने बताइन् ।

कोभिडका समयमा नाकामा बसेर कोभिडबाट हुने क्षति कम गर्न गरेको भूमिकाको चर्चा गर्दै क्लबप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गरिन् । अक्सिजन प्लान्ट निर्माणदेखि कोभिडबाट बच्नकालागि आवश्यक सामाग्री समेत वितरण गरी स्थानीय सरकारलाई साथ सहयोग गरेको स्पष्ट पारेको थिइन् ।

कार्यक्रमको उद्घाटन सत्रमा रोटरी क्लबका असिस्टेन्ट गर्भनर दिपु सन्दिप चापागाईंले रोटरीको थिमको बारेमा प्रष्ट पार्दैँ “क्रेट होप ईन द वल्ड” लाई सार्थक बनाउन अहिले विश्वका रोटरियनहरू लागेको जानकारी गराए । रोटरीले अहिले स्वास्थ शिक्षालगायत सामाजिक सेवामा गरिरहेको कामलाई अझ द्रुतगतिमा अघि बढाउने उनले प्रतिबद्धता व्यक्त गरेका थिए । रोटरियन जीवन भट्टराईले टोस्ट प्रपोजल प्रस्तुत गरेका थिए भने क्लबका प्रेसिडेन्ट नोमिनी उदयकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

रोटरी क्लब अफ काँकरभिट्टाका प्रेसिडेन्ट ईलेक्ट डाक्टर आनन्दराज खनालले स्वागत गरेको कार्यक्रममा सञ्चालन क्लबका सचिव भगिरथ राईले गरेका थिए ।