आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

हामी सरकार ढाल्ने बनाउने क्रियाकलापमा छैनौं : रवि लामिछाने

गोकर्णेश्वर खबर१९ असार २०८०, मंगलवार १५:०० मा प्रकाशित (१ साल अघि) १४४ पाठक संख्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानले सरकार बनाउने र ढाल्ने खेलमा आफूहरू नरहेको र त्यस्ता गठबन्धनमा सामेल हुने कुनै रूचि नरहेको बताएका छन्।

मंगलबार धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीको समग्र ध्यान संगठन निर्माण र मुलुकको समस्याहरूको उठानमा केन्द्रित रहेको बताएका छन्।

‘हामी सरकार फेरबदलको पक्षमा छैनौं। हामी गठबन्धनहरूमा छैनौं। हामी अहिले सरकार बनाउने ढाल्ने क्रियाकलापहरूमा हामी छैंनौं। हामी त्यसमा सहभागी छैनौं। हामीलाई त्यसमा इन्ट्रेस्ट छैन। हामी अहिले संगठन निर्माणमा छौं,’ उनले भने।

मुलुक आर्थिक संकटमा रहेको पनि उनले बताए। त्यसको सम्बोधन गर्न सरकारले ठोस योजना ल्याउन नसकेको पनि बताए।

सरकारले आम नागरिक, उद्योगी, व्यवसायीलाई राहत हुनेगरी कुनै निर्णय नगरे आफूहरूले ठोस निर्णय लिने पनि बताए।

‘आज पनि नागरिकहरू लघुवित्तको पासोमा छन्। सहकारीपीडितको समस्या उस्तै छन्। दर्दनाक अवस्थामा रहेका उनीहरूको सम्बोधन हुन सकेको छैन। क्लोजिङको बेला छ कति व्यवसायीहरूले कसरी तिर्न सक्नुहुन्छ? उहाँहरूको सम्बोधनमा केही ल्याएको छैन,’ उनले भने, ‘सरकारले घोषणा पो नगरेको त, हामी आर्थिक मन्दीको चरणमा छौं। तर, सबै ठीकठाकै, निरन्तरकै जस्तो गरेर सरकारले बजेट ल्याएको छ।’

पार्टीका सांसदहरूले बुँदागत छलफलमा एकएक कुरा उठाएको, तथ्यमा आधारित भएर कुरा उठाएको पनि उनले बताए।

‘लक्ष्यअनुरूप राजस्व परिचालन हुन सकेको छैन। अस्थिरता नहोस् भन्ने एउटा चाहना हो। तर, अस्थिरता नहोस चाहनामा जनताप्रतिउत्तरदायी नहुने, व्यवसायप्रति उत्तरदायी नहुने, ठूलाठूला उद्योगपति देखि लिएर सानासाना व्यवसाय गर्नेसम्म कसको पक्षमा आयो त बजेट? को खुसी भयो त? त्यसकारण अत्यन्त गलत छ। कुनै न कुनै माध्यमबाट सम्बोधन गर्नुपर्छ। अहिलेको समस्याको सम्बोधन हुनुपर्छ,’ उनले भने, ‘काहीँ,काहीँ न गएर आर्थिक जगतमा भएको सम्पूर्ण समस्या सम्बोधन गर्नुपर्छ। हामी केही समय हेर्छौं। कुनै न कुनै ठोस निर्णयचाहिँ लिनुपर्छ।’