आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

एमाले सचिव योगेश भट्टराईलाई गृहजिल्ला प्रवेशमा रोक लगाउने पहिचानवादीको घोषणा

गोकर्णेश्वर खबर३ असार २०८०, आईतवार १५:४० मा प्रकाशित (१ साल अघि) ३३७ पाठक संख्या

विराटनगर । पहिचानविरोधी अभिव्यक्ति निरन्तर दिएर आफूहरूको अपमान गरेको आरोप लगाउँदै ताप्लेजुङस्थित विभिन्न संघ–संस्थाहरूले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई गृहजिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका छन्।

नेपालको संविधानले मुलुकका हरेक नागरिकलाई आवतजावतमा रोक लगाउने कल्पना गरेको छैन। यद्यपि आफूलाई पहिचानका पक्षमा रहेको दाबी गर्ने संघसंस्थाहरूले भने गृहजिल्लामै भट्टराईलाई प्रवेश रोक लगाउने घोषणा गरेका हुन्।

जिल्लाको खस क्षेत्री एकता समाज, आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईलाई प्रवेश निषेध घोषणा गरेका हुन्।

उनीहरूले जारी गरेको विज्ञप्तिमा आदिवासी जनजाति समुदायहरूलाई हिंसा गर्ने, पहिचानवादी समुदायको न्यायिक आन्दोलनलाई जबर्जस्त दबाउने क्रम जारी रहेको आरोप लगाइएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको ती संघसंस्थाको आरोप छ।

ती संघ संस्थाले जारी गरेको विज्ञप्तिमा ताप्लेजुङबाट निर्वाचित भट्टराईले प्रतिनिधिसभामा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाइएको छ।

‘भट्टराईले संघीय सभाको औपचारिक बैठकमा दिएको गैरजिम्मेवार हिंसात्मक अभिव्यक्तिबाट देशको सिंगो पहिचानवादी राजनीतिक दल, संघसंस्था, नागरिक समुदायसँग हामी ताप्लेजुङवासी हदैसम्म दुखित बनेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘आम जनताको राजनीतिक माग, चाहना, भावना अपेक्षाहरूलाई राज्यबाट सम्बोधन गर्न गराउन संघीय सरकारमा ताप्लेजुङको तर्फबाट एक जिम्मेवार अभिभावक बनेर गहन भूमिका निर्वाह गर्नुपर्ने ठाउँमा सामाजिक न्यायको आवाज उठाइरहेका आवाजहरूलाई दबाउने यस्तो अतिरञ्जित हिंसात्मक अभिव्यक्ति दिएर समुदाय–समुदायबीच भड्काउ साम्प्रदायिक हिंसा निम्त्याउने अराजक अभिव्यक्ति संघीय सभाको बैठकबाट व्यक्त गर्नुभएकोमा यो अभिव्यक्तिलाई फिर्ता लिएर आम पहिचानवादीहरूसँग सार्वजनिक माफी माग्नुपर्ने छ।’

प्रदेश १को कुनै पनि सार्वजनिक, राजनीतिक कार्यक्रममा सार्वजनिक उपस्थितिलाई राजनीतिक अवरोध गरिने र गृहजिल्ला ताप्लेजुङमै प्रवेश निषेध घोषणा गरेको उक्त विज्ञप्तिमा उल्लेख छ।

उनीहरूले जारी गरेको विज्ञप्तिमा पहिचानवादी आन्दोलनकारी जनताहरूको आत्मसम्मान, भावनालाई सरकारसँग वार्तासँगै सहजीकरण गर्नुपर्ने ठाउँमा ठिक उल्टो बाटोमा एमाले अध्यक्ष र सचिव लागेको आरोप छ।