आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

समाजवादी मोर्चाको घोषणा भोलि हुने,विप्लवसहितका पार्टी सहभागी

गोकर्णेश्वर खबर३ असार २०८०, आईतवार १४:०६ मा प्रकाशित (१ साल अघि) १७६ पाठक संख्या

काठमाडौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा भोलि (सोमबार) हुने भएको छ ।

प्रधानमन्त्री निवास, बालुबाटारमा आइतबार बसेको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठका अनुसार भोलि सोमबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम राखिएको छ ।

समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहने छन् ।

नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ ।

मोर्चाले संसद भित्र र बाहिर पनि समाजवादी विचारधारको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्ने एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाको भनाइ छ । यसले देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनतालाई दिने सेवा सुविधाको प्रवाहलाई सुव्यवस्थित गर्न दबाबकारी भूमिकासमेत खेल्न सक्ने उनले बताए ।