आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

२ महिनाको अन्तरालमा सत्तापक्षबाट प्रतिपक्षमा पुग्यो एमाले

गोकर्णेश्वर खबर५ चैत्र २०७९, आईतवार १५:२० मा प्रकाशित (१ साल अघि) ५२ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभामा दलहरुको आसन फेरिएको छ । १४ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको चुनावपछिको अधिवेशनमा कांग्रेस प्रतिपक्षमा र नेकपा एमाले सत्तापक्षमा बस्दै आएका थिए ।

पुस ७ गते भएको सांसदहरुको शपथ ग्रहण कार्यक्रममा कांग्रेस, माओवादी लगायतका दलहरु सत्तापक्षको बेञ्चमा बसेका थिए । तर, पुस १० गते एमाले र माओवादी मिलेर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वका सरकार बनेपछि कांग्रेस प्रतिपक्षमा पुगेको थियो ।

तर, राष्ट्रपति चुनावअघि फेरि सत्ता समीकरण फेरियो । नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए । त्यसपछि पहिलो पटक आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले पहिलो पटक प्रतिपक्षी बेन्चमा बसेको हो । एमालेसँगै राप्रपा पनि प्रतिपक्षी बेन्चमा बसेको छ ।

प्रतिनिधिसभामा प्रतिपक्षीको आसन सभामुखको बायाँतर्फ र सत्तापक्षको दाँयातर्फ रहन्छ ।

नेपाली कांग्रेस र एकीकृत समाजवादी भने सत्तापक्षको बेन्चमा बसेका छन् । यी दुबै दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।