आज: १२ माघ २०८१, शनिबार | Sat, 25, Jan, 2025

राष्ट्रपति पौडेलले तोडे सडक खाली गराएर मात्र भि-भिआईपी सबारी हुने परम्परा

गोकर्णेश्वर खबर४ चैत्र २०७९, शनिबार २३:०६ मा प्रकाशित (१ साल अघि) ३१ पाठक संख्या

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कारकेड नलिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगेका छन् ।

राष्ट्रपति पौडेलले शनिबार अपरान्ह कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् । कारकेड बिनानै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरे ।

त्यसक्रममा सर्वसाधारणले सडकमा सवारी साधन चलाइरहेका थिए भने पैदलयात्रुलाई पनि रोकिएको थिएन । राष्ट्रपतिको सवारीका बेला सडक खाली गराइएको र सर्वसाधारणलाई हिँड्न पनि नदिएको भन्दै विगतमा आलोचना हुने गरेको थियो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पशुपतिनाथको दर्शन गर्न जाँदा सडक खाली गराइएको थियो र उनको पनि आलोचना भएको थियो ।

राष्ट्रपति पौडेलले बसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् । राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका थिए ।