आज: १२ माघ २०८१, शनिबार | Sat, 25, Jan, 2025

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

गोकर्णेश्वर खबर१ चैत्र २०७९, बुधबार ०९:४६ मा प्रकाशित (१ साल अघि) ३९ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बिहान बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बिहान ११ बजे बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कार्यसम्पादन समितिमा चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचन, वैशाख १० मा चितवन २ मा हुने उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने र तनहुँ १ मा हुने उपनिर्वाचनबारे पनि छलफल हुने एक पदाधिकारीले जानकारी दिए।

उपराष्ट्रपतिमा जसपा उम्मेदवार रामसहायप्रसाद यादवलाई कांग्रेसले सघाउने तयारी गरेको छ। जसपासहितको सहयोगमा कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिएको थियो।

तनहुँ १ बाट गत मंसिर ४ मा निर्वाचित रामचन्द्र पौडेल गत फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका थिए। यो क्षेत्र रिक्त भए पनि निर्वाचन आयोगले भने उपनिर्वाचन मिति तोकिसकेको छैन।

कांग्रेस बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा सहभागितालगायत विषयमा पनि छलफल हुने ती पदाधिकारीले बताए। चैत ५ लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।

सरकारमा जाँदा कसको नेतृत्वमा जानेलगायत विषयमा पनि पार्टीभित्र छलफल गरिने ती पदाधिकारीले जनाएका छन्। कांग्रेसले तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन सम्भव नरहेका बेला केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गर्ने गर्छ। कार्यसम्पादन समितिमा पार्टीका १३ जना पदाधिकारी र पूर्वपदाधिकारीहरू सदस्य छन्।