२९ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिका, भारत र जनगणतन्त्र चीनले बधाई दिएका छन् । पौडेलले नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाले लगत्तै अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले आज उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो ।
यसैगरी, नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गरकी छिन् । आज पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त भएकामा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेकी हुन् ।
त्यस्तै, उत्तरी छिमेकी मुलुक चीनले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ। काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङ्गले ट्वीट गर्दै पौडेलको सफल कार्यकालको शुभकामकना दिएका छन् ।
उनले पौडेलको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।