आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

आज फागु पूर्णिमा हर्षोल्लासका साथ मनाइँदै

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७९, सोमबार ०८:४५ मा प्रकाशित (१ साल अघि) १२६ पाठक संख्या

२२ फागुन, काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने परम्परा छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा छ ।

यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ ।

होली पर्व रंगहरुको पर्व हो । हिन्दू धर्म अनुसार यो पर्व फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । यो पर्वले खराबीमाथि राम्रोको विजयको प्रतीक हुनुका साथै होली पर्वले भगवानप्रतिको हाम्रो आस्थालाई पनि बढाउँछ

किनभने यस दिन भगवान विष्णुले आफ्ना भक्त प्रह्लादको अटल भक्तिका कारण रक्षा गर्नुभएको थियो ।

होली पर्वलाई भक्त प्रह्लाद र राजा हिरण्यकश्यपुको कथासँग जोडिएको हुँदा यही कथाका कारण होली पर्व मनाइन्छ ।