आज: २३ चैत्र २०८१, आईतवार | Sun, 06, Apr, 2025

सन्तोष चालिसेले सुन्दरीजल चेक पोष्ट र चर्को शुल्कबारे संसदमा आवाज उठाए

गोकर्णेश्वर खबर३ फाल्गुन २०७९, बुधबार २०:३३ मा प्रकाशित (२ साल अघि) १८० पाठक संख्या

३ फागुन, काठमाडौं । सुन्दरीजलमा रहेको आर्मी चेक पोष्टले पारेको समस्या बारे संघीय सांसद सन्तोष चालिसेले संसदमा आवाज उठाएका छन् । बुधबार संघीय संसदलाई सम्बोधन गर्दै चालिसेले आरक्षणको चेक पोष्ट र चर्को शुल्कले सुन्दरीजलका माथील्लो क्षेत्रमा बस्ने स्थानीय वासिन्दालाई पारेको समस्या संसदमा उठाएका हुन् ।

काठमाडौं क्षेत्र नं. ३ का सांसद चालिसेले आफ्नै क्षेत्र अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं. १ सुन्दरीजल शिवपुरी आरक्षणमा रहेको आर्मी चेक पोष्टका कारण त्यस क्षेत्रका जनतालाई परेको समस्या संसदमा उठाउँदै भनें- ‘काठमाडौं क्षेत्र नं. ३ सुन्दरीजल भन्दा माथी शिवपुरी आरक्षण जाने ठाउँमा शुरुमै आर्मी चेकपोष्ट राखिएको, लामो समयदेखि चेकपोष्टमा पैशा उठाउँदै आएको कारणले त्यस क्षेत्र भित्र पर्ने ५ वटा गाउबस्तिँमा जानका लागि, आफ्ना मामाघर, ससुराली जानका लागि पनि पैशा तिनु पर्ने अवस्था आएको, धार्मिक क्षेत्र सुन्दरीमाई वागद्वार जस्ता तिर्थस्थलमा जान पनि चर्को शुल्क तिनु पर्ने बाध्यता रहेकोले सुरक्षाका लागि चेक पोष्ट राखे पनि तत्काल शुल्क लिने कार्य हटाउन आग्रह गर्दछु ।’

उनले धर्मिक क्षेत्र सुन्दरीमाई वागद्वार जस्ता तिर्थस्थलमा जान पनि निकुञ्जलाई पैसा तिरेर जानु पर्ने बाध्यता रहेकोले चर्को शुल्कका कारण धार्मिक र पर्यापर्यट जाने संख्या घटेको उल्लेख गरे । त्यसका कारण त्यस क्षेत्रका बासिन्दाको व्यवसाय पनि सुक्दै गएकोमा जोड दिए । उनले शुल्कका कारण स्थानीयको जीवनयापन कठिन भएको भन्दै चेकपोष्ट सुरक्षाका लागि राखे पनि शुल्क लिने कार्य तत्काल बन्द गर्न आग्रह गरे ।

शिवपुरी आरक्षण अन्तर्गत पर्ने सुन्दरीजल क्षेत्रका मुलखर्क, ओख्रेनी, कुने लगायतका क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुले चेक पोष्ट र चर्को शुल्कका कारण समस्या रहेको गुनासो गरिरहेकामा आज चालिसेले सो विषय संसदमा उठाएका हुन् । पहिलो पटक संसदमा सम्बोधन गरेका चालिसेले काठमाडौं क्षेत्र नं. ३ अन्र्तगतको माथिल्लो क्षेत्रमा पर्ने गाउँका बासिन्दाका समस्यालाई प्राथमिकता दिएर उठाएका हुन् ।