आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

अत्यासलाग्दो वैदेशिक व्यापार

गोकर्णेश्वर खबर१० माघ २०७९, मंगलवार १०:३४ मा प्रकाशित (१ साल अघि) ५९ पाठक संख्या

१० माघ, काठमाडौं । आठ खर्बको वस्तु आयात हुँदा जम्मा ८० अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । आयात नभई नहुने वस्तुदेखि स्वदेशमै उत्पादन हुन सक्ने वस्तुको समेत आयात बढ्दा आयात–निर्यातको खाडल बढेको हो ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको व्यापारको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँ बराबरको आयात भएको छ । जब कि यही अवधिमा जम्मा ८० अर्ब ८० करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।

६ महिनामा आयात र निर्यात दुवै घटेको विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७८र७९ मा ९ खर्ब ९९ अर्ब ३४ करोडको आयात भएकामा ०७९/८० को ६ महिनामा २०.६८ प्रतिशतले घटेको छ । ०७८/७९ मा १ खर्ब १८ अर्ब ८५ करोडको निर्यात भएकामा ०७९/८० को पहिलो ६ महिनामा ३२.०१ प्रतिशतले घटेको छ । ६ महिनामा मुलुकको व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १९.१५ प्रतिशतले कम हो ।

गत वर्षको पहिलो ६ महिनाको व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो । विलासिताको वस्तुसँगै कृषिजन्य वस्तुको समेत आयात बढ्दा व्यापार घाटा उच्च देखिएको हो । विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले गत वैशाख १३ देखि मदिरा, तास, महँगा मोबाइल, टीभी, मोटरसाइकललगायत १० वस्तुको आयात बन्देज गरेको थियो । मुद्रा सञ्चितिमा झिनो सुधार आएपछि गत मंसिर मसान्तदेखि भने आयात खुला गरेको थियो ।

दैनिक ४ अर्ब ४५ करोडको आयात

भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको ६ महिनामा ७ खर्ब ९२ अर्बको आयात भएको छ । यस ६महिनाको अवधिमा कूल १८२ दिन छन् । साउन, भदौ र असोजमा समान ३१/३१, कात्तिकमा ३०, मंसिरमा २९ र पुसमा ३० गरी कूल १८२ दिन पुुग्छ ।

यसअनुसार चालू वर्षको ६ महिनामा भएको कूल आयात ७ खर्ब ९२ अर्ब रुपैयाँलाई १८२ दिनले भाग गर्दा औसतमा दैनिक ४ खर्ब ३५ करोड रुपैयाँको आयात भएको देखिन्छ । यद्यपी, गत आर्थिक वर्षको ६ महिनाको अवधिको आयात गर्दा दैनिक साढे ५ अर्बभन्दा बढीको वस्तु आयात भएको थियो ।

चालू आर्थिक वर्षमा खनिज तेल ९पेट्रोलियम पदार्थ०को आयातमा १ खर्ब ६४ अर्ब ८० करोड ८३ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, तरकारीको आयातमा १७ र फलफुल लगायतको आयातमा ८ अर्ब रुपैयाँ बाहिरिएको छ । यसैगरी, फर्मासिटिकल्को आयातमा २२ अर्ब, प्लाष्टिकजन्य वस्तुको आयातमा ३० अर्ब, फलाम र स्टिलजन्य वस्तुको आयातमा ७७ अर्ब रुपैयाँ बाहिरिएको छ ।

यसका साथै, यस अवधिमा मेसिनरीको आयात गर्दा ४८ अर्ब, विभिन्न विद्युतीय मेसिनको आयातमा ५१ अर्ब र क्यामेरा, स्क्यानर मेसिन लगायतको आयातमा १२ अर्ब रुपैयाँ बाहिरिएको विभागले जनाएको छ ।