आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै, कांग्रेसमा विश्वासको मतबारे छलफल हुने

गोकर्णेश्वर खबर२६ पुष २०७९, मंगलवार ०८:५५ मा प्रकाशित (१ साल अघि) ५० पाठक संख्या

२६ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।

नेपालको संविधानको धारा ७६ (२) अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए ।

प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सहित १६९ सांसद्ले समर्थन गरेका थिए । विश्वासको मत लिन १३८ सांसद्को समर्थन चाहिन्छ ।

आज कांग्रेसमा विश्वासको मतबारे छलफल हुने 

यसैबीच, नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बस्नु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने-नदिनेबारे छलफल गर्न दलको बैठक बस्न लागेको हो। प्रधानमन्त्री प्रचण्डले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए।

आजको बैठकले नेपाली कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्नेछ। प्रतिनिधिसभामा पहिलो दल बनेको कांग्रेसका ८९ सांसद छन् ।