आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

काठमाडौं ३ मा उम्मेदवारी निष्क्रिय पार्न माओवादी केन्द्रको निर्देशन 

गोकर्णेश्वर खबर१६ कार्तिक २०७९, बुधबार १९:३४ मा प्रकाशित (२ साल अघि) ३७४ पाठक संख्या

१६ कात्तिक, काठमाडौं । काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यको आफ्ना उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न नेकपा माओवादी केन्द्रले निर्देशन दिएको छ । आज विज्ञप्ति जारी गर्दै माओवादी पार्टी केन्द्रीय कार्यालयले प्रतिनिधिसभा र प्रदेश सभा (क) को उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको हो ।

सत्तारुढ गठबन्धनबीच उक्त क्षेत्रमा प्रतिनिधिसभा र प्रदेश सभा (क) मा नेपाली कांग्रेस र प्रदेश (ख) मा माओवादी केन्द्रको उम्मेदवार रहने सहमति भएको थियो । नेपाली कांग्रेसले युवा नेता विमल ठकुरीलाई प्रदेश (ख) का लागि टिकट दिएर पठाए पछि माओवादी केन्द्रको स्थानीय कमिटीले गठबन्धनको सहमती तोडिएको भन्दै क्षेत्रको ३ सिटमै उम्मेदवारी दिएको थियो ।

काठमाडौं–३ मा प्रतिनिधि सभा तर्फ माओवादी केन्द्रबाट बद्री बजगाईले उम्मेदवारी दिएका थिए भने प्रदेशसभा (क) तर्फ कपिलमुनि उप्रेतीले उम्मेदवारी दिएका थिए ।

माओवदीले काठमाडौं–३ (ख) मा भने सत्ता गठबन्धनबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको भन्दै महेश्वर फुयालको उम्मेदवारी कायम राखेको छ ।

गठबन्धनको मर्म विपरित कांग्रेसले प्रदेश (ख) मा उम्मेदवारी दिएर गठबन्धन तोडेको आरोप लगाउँदै क्षेत्रीय कमिटि र नगर कमिटिको बैठक बसेर पार्टी निर्देशनको बारेमा छलफल गरी निर्णय लिने माओवादीका स्थानीय एक नेताले गोकर्णेश्वर खबरलाई बताए ।

काठमाडौं–३ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा सन्तोष चालिसे, प्रदेश सभा (क) मा छिरिङ दोर्जे लामा र प्रदेश (ख) मा विमल ठकुरीको उम्मेदवारी रहेको छ ।

विज्ञप्ति हेर्नुहोस् :-