३० असोज, काठमाडौं । निर्वाचन आचारसंहिता लागू भइसकेपछि पनि धितोपत्र बजार, वस्तु बजार, धितोपत्र ब्रोकर, बिमा कम्पनीलगायत क्षेत्रमा लाइसेन्स वितरण गर्न लागेको विषयमा निर्वाचन आयोगले सरकारलाई स्पष्टीकरण सोधेको छ । आयोगले शनिबार पत्र लेखेर अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र बिमा समितिलाई तीन दिनभित्र जवाफ पठाउन भनेको हो ।
निर्वाचन आचारसंहिताविपरीत कार्य रोक्न आवश्यक आदेश जारी गर्न माग गर्दै शुक्रबार उपभोक्ता हित संरक्षण मञ्च नेपालले आयोगमा उजुरी दिएको थियो । ‘निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा त्यहाँबाट लाइसेन्स वितरण गर्ने सम्बन्धमा कुनै प्रक्रिया अगाडि बढाइएको छ, छैन ? त्यहाँबाट लाइसेन्स वितरण गर्ने सम्बन्धमा कुनै प्रक्रिया अगाडि बढाइएको भए निर्वाचन आचारसंहिताविपरीतको उक्त कार्य किन रोक्नु नपर्ने हो ?’ आयोगको पत्रमा भनिएको छ, ‘यो पत्र प्राप्त भएको मितिले तीन दिनभित्र निर्वाचन आयोगमा स्पष्ट जवाफ पठाउनुहुन निर्णयानुसार अनुरोध गरिन्छ ।’
निर्वाचन आचारसंहिता, ०७९ को दफा ५ को नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ख) मा ‘सरुवा रोगको महामारी वा कुनै प्राकृतिक विपद् वा काबुबाहिरको परिस्थिति सिर्जना भए आयोगको स्वीकृति लिईबाहेक वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने’ व्यवस्था छ । यही व्यवस्थामा टेकेर आयोगले ती निकायलाई स्पष्टीकरण सोधेको हो ।