आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

मधेस प्रदेशका कांग्रेसका ३ जना मन्त्री बर्खास्त

गोकर्णेश्वर खबर२८ आश्विन २०७९, शुक्रबार १४:५४ मा प्रकाशित (२ साल अघि) १८० पाठक संख्या

२८ असोज, काठमाडौं । मधेस प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका तीन जनालाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका छन् । मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार तीनै जनालाई बर्खास्त गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेस सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

कांग्रेसबाट मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । उनीहरूलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेका थिए । तर राजीनामा नदिएपछि बर्खास्तीमा परेका हुन् ।

मुख्यमन्त्री राउतले नेपालको संविधानको धारा १६९ उपधारा २ को खण्ड ख बमोजिम कांग्रेसका तीन मन्त्रीलाई पदमुक्त गर्न प्रदेश प्रमुख हरिशंक मिश्रलाई सिफारिस गरेका थिए । खाली भएका तीनै मन्त्रालयको जिम्मा मुख्यमन्त्रीलाई दिइएको छ ।