आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

सरकारी कर्मचारी र शिक्षकले चूनावी प्रचार प्रसार गरे कारबाही हुने

गोकर्णेश्वर खबर२५ आश्विन २०७९, मंगलवार २०:५६ मा प्रकाशित (२ साल अघि) १५८ पाठक संख्या

२५ असोज, काठमाडौं । निर्वाचन आयोगले सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न भएको पाइए कारबाही गर्ने बताएको छ ।

आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी प्रचारप्रसारमा संलग्न भएको पाइए कारबाही प्रारम्भ गर्ने बताएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी प्रचारप्रसारमा संलग्न कर्मचारी तथा शिक्षकले उम्मेदवारसँग तस्बिर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारहरूका प्रचार सामग्रीको शेयर र लाइक गर्ने गरेका घटनाहरू अनुगमनका क्रममा पाइएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम आचारसंहिताको अनुगमन र कारबाहीको प्रबन्ध रहेको छ । आयोगले त्यस्ता कर्मचारीलाई स्पष्टीकरणको मौका दिई दोषी देखिएमा सचेत, विभागीय कारबाही वा निलम्बनसम्मको कारबाहीका लागि सम्बन्धित निकायलाई आदेश दिनसक्ने उक्त दफामा उल्लेख छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि जारी गरिएको आचारसंहिताको अनुगमनका लागि आयोगमा रहेको अनुगमन समितिको अनुगमनका क्रममा ती कर्मचारीले पालन गर्नुपर्ने आचरणको उलङ्घनका घटना भेटिएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ- “संवत् २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निवाचन, २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता २०७९ को अनुगमन गर्दा आचारसंहिताको प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरु राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा सम्लग्न भएको पाइएको छ । त्यसरी प्रचारप्रसारमा सम्लग्न कर्मचारी तथा शिक्षकहरुले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवाहरुका प्रचार सामग्रीहरुको शेयर र लाइक गर्ने गरेका घटनाहरु अनुगमनका क्रममा पाइएकाले आयोगले आवश्यक कारवाही प्रारम्भ गरेको छ ।

निर्वाचन आचारसंहिता, २०७२ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षक, सरकारी वा गैह्रसरकारी निकायवाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नुपर्ने आचारणहरुबारे स्पष्ट व्यवस्था गरिएको छ । आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा सम्लग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ । उक्त व्यवस्था उलङ्घनकतालाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम स्पष्टीकरण सोधी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाइएको अवगत गराइन्छ ।”

आयोगले जारी गरेको विज्ञप्ति :-