२३ असोज, काठमाडौं । माओवादी नेतृ तथा पूर्वसभामुख ओनसरी घर्तीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेकी छन् ।
क्षेत्रीय निर्वाचन कार्यालय, थली पुगेर आइतबार सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार घर्तीले सवा चार बजे मनोनयन दर्ता गराएकी हुन्। उनलाई माओवादीले अन्तिम समयमा काठमाडौं २ मा निर्वाचन लड्न टिकट दिएको थियो। यसअघि उनले रुपन्देही १ बाट निर्वाचन लड्ने आंकाक्षा राखेकी थिइन्। तर, एमाले परित्याग गरेका घनश्याम भुसाललाई माओवादीसहित सत्तागठबन्धन दलले सघाउने समझदारी बनेपछि ओनसरी काठमाडौं २ मा उठेकी हुन्।
घर्ती २०६४ को संविधानसभामा समानुपातिक सांसद थिइन् । २०७० को संविधानसभामा भने रोल्पा २ बाट निर्वाचित भएकी थिइन् । दोस्रो संविधानसभाले संविधान जारी गरेपछि उनी सभामुख निर्वाचित भएकी थिइन् । २०७० देखि २०७२ सम्म संविधानसभा उपाध्यक्ष रहेकी उनी २०७२ देखि २०७४ सम्म सभामुख पदमा थिइन् । उनी ओनसरी नेपालको पहिलो महिला सभामुख हुन् ।
उनी माओवादी पार्टीभित्र प्रभावशाली महिला नेतृका रूपमा स्थापित छिन्। घर्तीका लागि काठमाडौंको निर्वाचन क्षेत्र नौलो भएपनि सत्तागठबन्धनमा रहेका उनलाई कांग्रेस र जनता समाजवादीको बलियो साथ रहेको छ ।
माओवादीले घर्तीसँगै काठमाडौं जिल्लामा ३ जना महिला उम्मेदवार उठाएको छ। काठमाडौं–९ बाट कल्पना धमला र काठमाडौँ–७ बाट मानुषी यमी भट्टराईले उम्मेदवारी दिएकी छिन्।