आज: १४ माघ २०८१, सोमबार | Mon, 27, Jan, 2025

शेखर समूहको निष्कर्ष : ४० प्रतिशत सिट चाहिन्छ, बेवास्ता गरे ठूलो संकटको सामना गर्नुपर्छ

गोकर्णेश्वर खबर२० आश्विन २०७९, बिहीबार १७:२४ मा प्रकाशित (२ साल अघि) १५१ पाठक संख्या

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ ।

संस्थापन पक्ष एक्लौटी रूपमा गए कांग्रेसले ठूलो संकटको सामना गर्नुपर्ने बैठकमा सहभागी नेताहरूको भनाइ छ ।

” हामीले प्रतिशतको कुरा गर्न चाहेका होइनौँ । गएको स्थानीय निर्वाचनमा हामीले आवश्यकता र औचित्यका आधारमा गुट, उपगुट नभनेर प्रभावशाली मान्छेलाई टिकट दिनुपर्छ भन्यौँ । तर, हाम्रो कुरा मानिएन । त्यसैले अहिले हामीले ४० प्रतिशत चाहिन्छ भनेका हौँ ”  बैठकमा सहभागी एक नेताले भने ।

भेलापछि कांग्रेस युवा नेता भुपेन्द्रजंग शाहीले न्याय र समान अवसरका लागि पार्टीभित्रैबाट खबरदारी गरिरहँदा त्यसलाई उचित ढंगले निकास दिनुपर्ने बताए । आगामी निर्वाचनमा विजयी हासिल गर्नका लागि अन्य पार्टीसँग गठबन्धन गरिरहदा आफ्नै पार्टीभित्र पनि गठबन्धन गरी एकढिक्का गर्नुपर्ने उनको भनाइ छ ।

उनले सामानुपातिक सूचीमा पनि असन्तुष्टिका स्वरहरू आइरहँदा संस्थापन पक्षले समाधान दिन नसकेको अवस्थामा प्रत्यक्षतर्फ टिकट वितरण गर्दा काखापाखा गर्न नहुने बताए । पार्टीले फेरि अन्याय गरी टिकट वितरण गरे निर्वाचनको परिणाम आउन नसक्ने उनले बताए ।

मनोनयनको मिति नजिकिएसँगै शखर समूहका नेताहरू भेलामा जुट्न थालेका छन् । यसअघि समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै उनीहरूले पार्टीमा संघर्ष गरेका थिए । अन्तिममा आएर कांग्रेसको समानुपातिक सूचीमा केही परिवर्तन गरिएको थियो ।

– बाह्रखरी