७ असोज, काठमाडौं । हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका तीन जना बालकहरूको सनाखत भएको छ । हेटौंडा–५ र ७ को सिमानामा रहेको कर्रा खोलास्थित नागदहमा डुबेर शुक्रबार साँझ उनीहरुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार साँझ ५ बजेतिर पौडी खेल्न खोलामा हाम फालेका चार जनामध्ये तीनजना बेपत्ता भएका थिए । एक जना भने दहबाट पौडिएर निस्किएका थिए । प्रहरीका अनुसार खोलामा डुबेर हेटौंडा–१५, फारलाइनका १७ वर्षीय साहिल लामा, १२ वर्षीय कार्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको मृत्यु भएको हो ।
मृतकसँगै खोलामा पसेका हेटौंडा–८ का रियान्स माझी भने तैरिएर बाहिर निस्किएका थिए । माझीले नै स्थानीयलाई साथीहरु खोलामा डुबेको भनेर खबर गरेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोलामा डुबेको बालकको खोजी गरेका थिए । उनीहरुको शव घटनास्थलभन्दा केही तल खोलामा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।