आज: १४ माघ २०८१, सोमबार | Mon, 27, Jan, 2025

मन्त्री यादवद्वारा भ्लादिभोस्तोक भ्रमण रद्द

गोकर्णेश्वर खबर१७ भाद्र २०७९, शुक्रबार १२:३५ मा प्रकाशित (२ साल अघि) ११६ पाठक संख्या

काठमाडौँ,  भदौ  १७ गते । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सोमबारदेखि भ्लादिभोस्तोकमा हुने दोस्रो बाघ सम्मेलन भ्लादिभोस्तोक भ्रमण रद्द गर्नुभएको छ । मन्त्रालय तथा अन्य विभिन्न क्षेत्रका महत्वपूर्ण कार्य गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँले बाघ सम्मेलनमा सहभागी हुन नसक्ने भन्दै भ्रमण रद्द गर्नु भएको उहाँको स्वकीय सचिवालयले जनाएको छ ।

केही दिनअघिको मन्त्रिपरिषद् बैठकले भ्लादिभोस्तोकमा हुने ‘दोस्रो अन्तर्राष्ट्रिय बाघ बैठक’को नेतृत्व मन्त्री यादवले गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले मन्त्री यादवसहित मन्त्रालयका सचिव डा पेमनारायण कँडेल र निकुञ्ज विभागका निवर्तमान महानिर्देशक रामचन्द्र कँडेलको भ्लादिभोस्तक भ्रमण स्वीकृत गरेको थियो ।

राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले भ्लादिभोस्तकमा सक्रिय सहभागिता जनाउन वन तथा वातावरण मन्त्रालयलाई यसअघि नै निर्देशन दिनुभएको थियो । बाघ सम्मेलनमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यसहित बाघ संरक्षण तथा अनुसन्धानमा सहयोगी प्रकृति संरक्षण कोषका विज्ञ नरेश सुवेदी सहभागी हुने बताइएको छ ।