आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धवारे भदौ १० देखि १२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन हुने 

गोकर्णेश्वर खबर७ भाद्र २०७९, मंगलवार ०७:५२ मा प्रकाशित (२ साल अघि) २०२ पाठक संख्या

७ भदौ, काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठान, नेपालले भदौ १० देखि १२ सम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्धवारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

प्रतिष्ठानका निर्देशक डा. दीपक कुमार अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले १० भदौमा उद्घाटन गर्ने सम्मेलनको समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ । सम्मेलनमा अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन र कार्य गरिरहेका ४० वर्षमुनिका विज्ञहरू सहभागी हुनेछन् । भारतबाट ३८ जना विज्ञ आउनेछन् । जम्मा ७० जना विज्ञ सहभागी हुनेछन् ।

‘नेपालले भविष्यमा कस्ता नीतिहरूको आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा यस कार्यक्रमले गहन विषयवस्तुको प्रकाशन गर्नेछ,’ काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा निर्देशक अधिकारीले भने । नयाँ विश्व व्यवस्थामा नेपालको विदेश नीतिबारे कार्यक्रमले दिशानिर्देश गर्ने कार्यक्रमका संयोजक डा। विनय कुमार मिश्रले जानकारी दिए । सेमिनारमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ ।

आगामी दिनमा एउटा सकारात्मक तथा सृजनात्मक विमर्श एवं संकथन खडा होस् भन्ने पवित्र उद्देश्यका साथ यस संगोष्ठीको आयोजना हुने जनाएको छ । वर्तमान युवा मस्तिष्कले के सोचेको छ र भविष्यमा त्यसलाई कसरी कार्यान्वयन गर्ने लक्ष्य युवाहरूका मनमा रहेको छ भन्ने कुराको समेत त्यस कार्यक्रमबाट समाजले थाहा पाउने अवसर हुनु पर्दछ भन्ने आयोजकको ध्येय रहेको छ ।