आज: १३ बैशाख २०८२, शनिबार | Sat, 26, Apr, 2025

सप्तकोसीले धार परिवर्तन गर्दा सुनसरी र उदयपुरका २० हजारभन्दा बढी सर्वसाधारण विस्थापित 

गोकर्णेश्वर खबर१९ श्रावण २०७९, बिहीबार ०९:४७ मा प्रकाशित (२ साल अघि) ३७९ पाठक संख्या

१९ साउन, काठमाडौं । सप्तकोसी नदीमा आएको बाढीले धार परिवर्तन गरेर बस्तीमा पस्दा सुनसरी र उदयपुरका २० हजारभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन्। अविरल वर्षापछि मंगलबार रातिबाट आएको बाढी पश्चिमतर्फको अस्थायी बाँध भत्काएर बस्तीमा पसेको छ।

बाढीले सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाका सयौं परिवारको बिचल्ली भएको छ। चतरा पुलमुनिको डुम्रीबोटेबाट पश्चिमतर्फ धार परिवर्तन गरेर कोसीको बाढी बस्ती परेको हो।

पानीको बहाव उच्च भए पनि भारतले कोसी ब्यारेजका सबै ढोका समयमा नखोलेका कारण बाढीले श्रीलंका टापुको मानव बस्ती र खेती योग्य जमिन तहसनहस बनाएको छ। बाढीले सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ को श्रीलंका टापुका ५ सय घरपरिवारका २ हजार ५ सय जना विस्थापित भएका छन् । विस्थापितलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

कटान तीव्र बनाएको कोसीको बाढी उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडामा समेत प्रवेश गरेको छ। यस क्षेत्रका २ हजार ३ सय घरपरिवारका १८ हजार सर्वसाधारण विस्थापित भएका छन् ।