आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

प्रकाश सपुतको गीत ‘पीर’ युट्युबबाट हटाउन माग

गोकर्णेश्वर खबर३० फाल्गुन २०७८, सोमबार ०८:५१ मा प्रकाशित (२ साल अघि) ४१२ पाठक संख्या

३० फागुन, काठमाडौं । २०७८ फागुन २७ गते शुक्रबार प्रकाश सपुत युट्युव च्यानलबाट सार्वजनिक गरिएको म्यूजिक भिडियो ‘पीर’युट्युबबाट हटाउन माग गरिएको छ । माओवादी निकट ४ संगठनले गायक प्रकार सपुतको पिर बोलको गीत तत्काल युट्युबबाट हटाउन माग गरेका हुन् ।

जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा सङ्घका इन्चार्ज दिपेन्द्र कुमार पुन, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापामगर, जनसांस्कृतिक महासङ्घ, अध्यक्ष मातृका पोखरेल, र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले आइतबार संयुक्त विज्ञप्ति निकालेर म्यूजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युव च्यानलबाट हटाउन माग गरेका हुन् ।

संयुक्त वक्तव्यमा भनिएको छ ‘२०७८ फागुन २७ गते शुक्रबार प्रकाश सपुत युट्युव च्यानलबाट सार्वजनिक गरिएको म्यूजिक भिडियो ‘पीर’ले चित्रण गरेको विषयवस्तुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। दश बर्षे महान जनयुद्धमा जनमुक्ति सेनाहरुले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्धलाई नै विद्युतीकरण गर्न खोजिएको उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युव च्यानलबाट हटाउन जोडदार माग गर्दछौं’ ।

दश वर्षे जनयुद्धले व्यवस्था परिवर्तन गरे पनि योद्धाहरुको जीवन परिवर्तन नभएको उद्घोषबाट सुरु गरिएको म्यूजिक भिडियोमा जनमुक्ति सेना र घाइते योद्धाहरुलाई अहिले आफ्नो जीवन धान्नको लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्यहरु देखाइएको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ । यस्तै महिलाहरुको चरित्र हत्या गरी अश्लील र घोर अपमानजनक ढंगले प्रस्तुत गरिएको पनि आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ सिङ्गो परिवर्तनकारी शक्तिको मानमर्दन गर्ने, घृणा र द्वेष फैलाउने कार्यका साथै विचारधारात्मक तथा राजनैतिक मूलप्रवाहलाई नै मजाक गरिएको अभिव्यक्ति एवं दृश्य माओवादी आन्दोलनको लागि खेदपूर्ण छ ।