आज: १३ बैशाख २०८२, शनिबार | Sat, 26, Apr, 2025

ग्याल्बो ल्होसारको अवसरमा प्रधानमन्त्री देउवाद्वारा शुभकामना

गोकर्णेश्वर खबर१९ फाल्गुन २०७८, बिहीबार ०९:१६ मा प्रकाशित (३ साल अघि) ४६० पाठक संख्या

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न एवं धार्मिक, सांस्कृतिक पर्व र परम्पराको संरक्षणमा सरकार सधैँ क्रियाशील रहेको बताएका छन् । हिमाली आदिवासी शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार तथा नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोको उपलक्ष्यमा शुभकामना दिनुहुँदै प्रधानमन्त्रीले सो धारणा व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले शुभकामना सन्देश दिंदै भनेका छन् “नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । यहाँ हरेक जातजातिका आ–आफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति छन् । सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान हो ।”

नेपाल सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेकाले त्यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको समेत प्रधानमन्त्री देउवाले प्रस्ट पारेका छन् ।

नेपाल सरकारले आज ग्याल्बो ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको छ ।