१३ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज बोलाईएको प्रतिनिधी सभाको बैठक आज बस्दै छ । एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको हो । बैठक आज १ बजे बस्नेछ ।
बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामशर्म समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा आएर सोही बैठकमा सरकारले एक दिनको समय मागेपछि संसद बैठक आजलाई सारिएको हो ।
एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुन सकेको छैन । बिहीबार दिनभर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार सक्रिय भए पनि कुनै सहमति भएको छैन । सत्तारुढ दलहरू विभाजित भएका छन्, गठबन्धन कायम रहने नरहने अनिश्चित छ ।
सत्तामै रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीकोविरुद्धमा छन् । जनता समाजवादीको उपेन्द्र यादव पक्ष पनि विपक्षमै देखिएपछि प्रधानमन्त्री देउवाले गठबन्धनलाई छोडेर एमालेसँगको छलफल अघि बढाएका छन् ।
पछिल्लो समय सरकार–नेपाली कांग्रेस र नेकपा एमाले, माओवादी र नेकपा एमालेबीच पनि पटकपटक छलफल र वार्ता भएको छ । तर, कुनै सहमति भइनसकेको नेताहरूले प्रतिक्रिया दिएका छन् ।