१२ फागुन, काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । प्रधानमन्त्री एव नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार गएका हुन् ।
अध्यक्ष प्रचण्ड संसद्मा टेबल भएको अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताका विषयमा छलफल गर्न पुगेका हुन् ।
प्रतिनिधिसभाको बैठकअघि सत्तासाझेदार दलहरू नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच यसअघि भेटवार्ता भएको थियो ।
बिहीबार सिंहदरबारस्थित एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा प्रचण्ड र नेपालसँगै माओवादीका नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ पनि सहभागी थिए ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ । नेताहरूबीच एमसीसीकै विषयमा छलफल भएको बताइएको छ ।