आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

संसद्को कार्यसूचीमा एमसीसी, संसदमा अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेसको निर्देशन

गोकर्णेश्वर खबर११ फाल्गुन २०७८, बुधबार १९:२० मा प्रकाशित (२ साल अघि) २८७ पाठक संख्या

११ फागुन, काठमाडौं । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

सङ्घीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीमाथि छलफलका लागि प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।

सम्भावित कार्यसूचीको पहिलो नम्बरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेश गर्ने विषय राखिएको छ ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि कांग्रेसको निर्देशन 

यसैगरी, नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।

कांग्रेस सचेतक पुष्पा भुसालका अनुसार संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरूलाई निर्देशन गरिएको छ । आइतबारको संसद् बैठकमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धी प्रस्तावमाथि बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुँदै छ ।

एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ । ठुला राजनीतिक दलमध्ये हालसम्म कांग्रेस मात्र स्पष्ट रूपमा खुलेर एमसीसीका पक्षमा देखिएको छ । सरकारले अन्य दललाई पनि एमसिसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्दै छलफलको प्रयास जारी राखेको छ ।