आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

एमसीसीमा सघाउन ओलीलाई देउवाको आग्रह

गोकर्णेश्वर खबर११ फाल्गुन २०७८, बुधबार १३:०१ मा प्रकाशित (२ साल अघि) ५४१ पाठक संख्या

११ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अनुमोदन गराउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । सत्ता गठबन्धनका सहयात्री दल र प्रमुख प्रतिपक्ष एमालेसँग समानान्तर छलफल अघि बढाएका देउवाले एमसीसी संसदबाट पास गर्न एमालेको साथ खोजेका छन् ।

सत्ता गठबन्धन दलकै विरोधले एमसीसी सम्झौता अनुमोदन सुनिश्चित हुन नसकेपछि देउवाले बहुमतका लागि सक्रियता बढाएका हुन्  ।  प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता केन्द्रमा राखेर मंगलबार साँझ बालुवाटारमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सघन छलफल गरेका हुन् । ओलीले संसद अवरुद्ध गर्दै आएको मुद्दा सम्बोधन नगरेसम्म संसदको काम कारवाही नियमित हुन नसक्ने बताएका थिए  ।

बालुवाटार स्रोतका अनुसार एमालेसँगको छलफलमा सत्ता सहकार्यदेखि एमसीसी सम्झौता अनुमोदन गर्नेसम्मका विषय प्रवेश भएका थिए । नेताहरूले साढे ६ बजेदेखि करिब २ घण्टा छलफल गरेका थिए । मंगलबारै दिउँसो ओली र अमेरिकी राजदूत ¥यान्डी बेरीबीच भेटवार्ता भएको थियो ।

भेटमा देउवाले एमसीसी सम्झौता अनुमोदन नहुँदा नेपाल भूराजनीतिक झमेलामा फस्नुका साथै वैदेशिक सहायता रोकिनेतर्फ गम्भीर बनेर जिम्मेवारीका साथ प्रस्तुत हुन एमाले अध्यक्ष ओलीलाई सुझाएका थिए ।

यही मुद्दालाई लिएर सत्ता गठबन्धन टुटाउने रणनीति बनाएका ओलीले भने सम्झौताका पक्षमा मतदान गर्ने कि नगर्ने ठोस धारणा दिइसकेका छैनन् । पक्षमा मतदान गर्ने वातावरण नबने पनि विपक्षमा नउभिने संकेत ओलीले गरेको बालुवाटार स्रोतको जनाएको छ ।