आज: १६ कार्तिक २०८१, शुक्रबार | Fri, 01, Nov, 2024

प्रजातन्त्रकै जगमा गणतन्त्र : प्रधानमन्त्री शेरबहादुर देउवा

गोकर्णेश्वर खबर७ फाल्गुन २०७८, शनिबार ०७:४१ मा प्रकाशित (२ साल अघि) ५३१ पाठक संख्या

७ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा शुभकामना दिनुहुँदै मुलुकको युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्न जरुरी रहेको बताएका छन् ।

प्रधानमन्त्रीले त्यसका लागि हामीले सबै लोकतान्त्रिक विधि, पद्धतिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्ने खाँचो औंल्याएका छन् । प्रजातन्त्र प्राप्तिको २००७ को राजनीतिक क्रान्तिले नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्त्व राख्ने क्रान्ति हो भन्नुहुँदै प्रधानमन्त्रीले प्रजातन्त्रकै जगमा त्यसपछि विभिन्न क्रान्ति सम्पन्न भई लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन प्रणालीसम्मको यात्रा पूरा गरेको बताएका छन् ।

नेपाली काँग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासनको अन्त्य भई जनताको हक अधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्न २००७ सालमा आजकै दिन प्रजातन्त्रको घोषणा भएको थियो । आजको दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हक अधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा इतिहासमा स्मरणीय छ ।

राज्यको सबै तह र संरचनामा आम नागरिकको जुन प्रकारको पहुँच स्थापित हुन सकेको छ, यो सबै २००७ सालको क्रान्तिको जगमा सम्भव भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।