आज: १६ कार्तिक २०८१, शुक्रबार | Fri, 01, Nov, 2024

सत्ता गठबन्धन दलको बैठक आज बिहान ९ बजे बस्ने, बिहिबार किन सहमती जुटेन ?

गोकर्णेश्वर खबर६ फाल्गुन २०७८, शुक्रबार ०८:०६ मा प्रकाशित (२ साल अघि) २७४ पाठक संख्या

६ फागुन, काठमाडौं । अमेरिकी सहयोग निकाय एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान ९ बजे फेरि बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौतालाई जतिसक्दो छिटो संसद्मा अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेकाले शुक्रबारको बैठकमा सहमति नभए संसद्मा प्रक्रिया अगाडि बढाउन सजिलो छैन ।

बिहीबार अपराह्न बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले शुक्रबारको संसद् बैठकमा एमसीसी सम्झौता टेबल गर्ने प्रस्ताव राखेका थिए । उनले फागुन १६ भित्र एमसीसी सम्झौतालाई निष्कर्षमा पु¥याउनैपर्ने भएकाले संसद्मा पेस गरेर छलफल गर्नुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीले यसअघि बुधबारकै बैठकमा सम्झौता अघि बढाउन कोसिस गरेका थिए । एमसीसी सम्झौता पूर्ववर्ती सरकारले संसद्मा दर्ता गरेको हो ।

हिजोको बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले परिमार्जन नभई एमसीसी सम्झौताका पक्षमा जान नसकिने उल्लेख गर्दै टेबल गर्न पनि संसद् खोल्नुपर्ने सर्त दोहो¥याएका थिए । यति महत्त्वपूर्ण मुद्दा संसद् अवरोध रहेको बेला लैजान सम्भव हुन्न । त्यसकारण संसद् सञ्चालन छलफल र बहससहित निर्णय प्रक्रियामा जाने वातावरण बनाउनुप¥यो,’ बैठकमा राखेको धारणा उल्लेख गर्दै श्रेष्ठले भने, ‘सँगसँगै पार्टीबीच सहमति बनेर कार्यसूचीमा राख्नुपर्छ ।’ श्रेष्ठपछि बोलेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको धारणा त्यही रहेको उल्लेख गरेका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ७ गते (शनिबार) पार्टीको बैठक भएको जनाउँदै त्यसपछि निर्णय दिने बताएका थिए । लगत्तै प्रधानमन्त्री देउवाले ‘त्यसो भए ८ गते पेस गर्ने सहमति यही बैठकबाट गरौं’ भनेर अर्को प्रस्ताव गरेका थिए । जवाफमा नेपालले पार्टी निर्णय नहुँदा सम्म ग्यारेन्टी गर्न नसकिने बताएका थिए । एकीकृत समाजवादीका नेता झलनाथ खनालले भने परिमार्जन हुनुपर्ने अडान राखेका थिए ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ‘शुक्रबार नै संसद्मा टेबल गरौं’ भन्ने प्रधानमन्त्री देउवाको प्रस्तावमा समर्थन जनाएका थिए । तर जसपाकै नेता एवं मन्त्री राजेन्द्र श्रेष्ठले भने गठबन्धनमा सहमति नभई एक्लै अगाडि नबढ्न प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

आफ्नै पार्टीमा पनि केही नेता संकीर्णताको पक्षमा देखिएको तर ठूलो संख्या एमसीसी सम्झौता अनुमोदन गरेर जानुपर्ने पक्षमा रहेको भट्टराईले दाबी गरे । दाहाल र नेपालको राजनीतिक स्वार्थले अन्योल सिर्जना गरेको उनको टिप्पणी छ ।

बैठककै बीचमा प्रधानमन्त्री देउवाले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जान लागेको जानकारी दिएका थिए । गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा बालकोटस्थित एमाले अध्यक्ष ओलीको निवासमा पुगेका थिए ।