आज: १६ कार्तिक २०८१, शुक्रबार | Fri, 01, Nov, 2024

भोलि बस्ने प्रतिनिधि सभाको बैठक र एमसीसीप्रति चुलियो चासो

गोकर्णेश्वर खबर२५ माघ २०७८, मंगलवार १५:११ मा प्रकाशित (२ साल अघि) ३१९ पाठक संख्या

२५ माघ, काठमाडौं । लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । भोलि बस्ने बैठकको सम्भावित कार्यसूचीमा एमसीसी पर्ला कि नपर्ला भन्ने चासो राजनीतिक वृत्तमा बढेको छ ।

प्रतिनिधि सभामा पेस गर्न बाँकी रहेका विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने सम्बन्धी सम्भावित कार्यसूची तयारीको क्रममा रहेको छ । संसद् बैठक स्थगित हुने बारे कुनै संकेत देखिएको छैन । पुस २१ गतेदेखि निरन्तर रूपमा सूचना टाँस गर्दै प्रतिनिधि सभाको बैठक पछि सार्दै लगिएको थियो ।

अमेरिकन सहयोग परियोजना एमसीसी संसद्मा टेबल गर्नका लागि सरकारले सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेको छ । सभामुख सापकोटाले भने सम्पूर्ण राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटेपछि मात्र संसद्मा अगाडि बढाउन तयार रहेको उनको सचिवालयले जनाएको छ ।

अहिलेको अवस्थामा एमसीसी परियोजनाबारे राजनीतिक सहमति जुटिनसकेको अहिलेको अवस्थामा तत्काल यो विषय संसद्मा प्रवेश गर्ने सम्भावना कम रहेको छ । सरकारले एमसीसी प्रस्ताव संसदमा लैजान कस्तो रणनीति बनाउला र राजनीतिक दलहरुले एमसीसीलाई कसरी लेलान् अहिले आम चासोको विषय बनेको छ ।