आज: २० माघ २०८१, आईतवार | Sun, 02, Feb, 2025

कमल थापाबाट पार्टी परित्याग गरेको घोषणा, लिङ्देनले भने दुर्भाग्यपूर्ण

गोकर्णेश्वर खबर२५ माघ २०७८, मंगलवार १४:४६ मा प्रकाशित (२ साल अघि) ५४९ पाठक संख्या

२५ माघ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिंदेनसँग पराजित भएका थापाले पूर्वराजाले हस्तक्षेप गरेको दाबी गर्दै आएका थिए । यसबारे छानबिन गरी हस्तक्षेपको भत्र्सना गर्नुपर्ने र भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुपर्ने पूर्वअध्यक्ष थापाको माग थियो ।

सुरुमा यसबारे छलफल गर्न अस्वीकार गरेका राप्रपा अध्यक्ष लिंदेनले शनिबार भने थापालाई भेटेर संवाद गरेका थिए । थापाले उठाउँदै आएको मागबारे छलफल भइरहेको र छिट्टै निकास निस्कने समेत उनले दाबी गरेका थिए ।

थापा भने स्थानीय तहको निर्वाचन घोषणा अघि नै आफ्नो माग सम्बोधन हुनुपर्ने अडानमा थिए । सोमबार मात्र आफ्नो पक्षका नेताहरुको भेला गरेर गृहनगर हेटौंडा पुगेका पूर्वअध्यक्ष थापाले मंगलबार पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

लिङ्देनले भनें दुर्भाग्यपूर्ण

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाड्ने घोषणा गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । लिङ्देनले थापाले पठाउनुभएको पत्रको विषयमा पार्टीको शीर्ष तहमा छलफल भई उहाँसमेतको सल्लाह सुझावमा समाधानको उपाय खोज्ने अन्तिम प्रयास भइरहेका बेला यस प्रकारको निर्णय हुनु अनपेक्षित, उहाँको राजनीतिक जीवनको लागि दुर्भाग्यपूर्ण घटनाको रुपमा हामीले लिएका छौं भनेका छन् ।